काठमाडौं उपत्यकामा एकैदिन ६८ सङ्क्रमितको मृत्यु
काठमाडौं, १ जेठ । काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा ६८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा ६८ जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभरि चौबीस घण्टामा १८७ सङ्क्रमितको मृत्यु भएको छ ।
कोभिड १९ सम्बन्धी दैनिक बिवरणमा मन्त्रालयले उल्लेख गरे बमोजिम काठमाडौंमा चौबीस घण्टामा ४६, ललितपुरमा १४ र भक्तपुरमा आठ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।
काठमाडौंमा कोरोना सङ्क्रमणबाट हालसम्म एक हजार १०१, ललितपुरमा २९७ र भक्तपुरमा २१७ जना सङ्क्रमितको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा पछिल्लो चौबीस घण्टामा दुई हजार ९३७ जना सङ्क्रमित थपिएका छन् । काठमाडौंमा दुई १४६, ललितपुरमा ४४४ र भक्तपुरमा ३४७ जनामा सङ्क्रमणको पुष्टि भएको छ ।
देशैभरि पछिल्लो चौबीस घण्टामा आठ हजार ४६ सङ्क्रमित थपिएका छन् ।
मन्त्रालयले काठमाडौंमा हाल ३० हजार १२४ जना सक्रिय सङ्क्रमित छन् ।
ललितपुरमा सात हजार १०१ र भक्तपुरमा पाँच हजार सक्रिय सङ्क्रमित छन् । काठमाडौं जिल्लामा पछिल्लो चौबीस घण्टामा सक्रिय सङ्क्रमितको संख्यामा कमी आएको छ ।
काठमाडौंमा शुक्रबारसम्म सक्रिय सङ्क्रमित ३० हजार ४५२ रहेको थियो ।
काठमाडौंमा हालसम्म एक लाख ६१ ह्जार १३७ जना सङ्क्रमितको पुष्टि भएकोमा एक लाख २९ हजार ९१२ जना कोरोनामुक्त भएका छन् ।
ललितपुरमा हालसम्म २७ हजार ३२७ जना सङ्क्रमित भएकोमा १९ हजार ९२९ जना निको भएको र भक्तपुरमा १६ हजार २५० जना सङ्क्रमित भएकोमा ११ हजार ३३ जना कोरोनामुक्त भएका छन् ।