विपत व्यवस्थापनमा तयारी

काठमाडौं, २७ जेठ । यस वर्षको मनसुन सुरु हुन तीन दिन मात्र बाँकी रहेको र औसतभन्दा बढी वर्षा हुने अनुमान जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरिसकेको छ । मनसुनसँगै विपद् पनि आउने भएकाले त्यसको चिन्ता पनि हुने गर्छ ।
यस वर्षको मनसुनजन्य विपत्बाट १८ लाख २० हजार व्यक्ति प्रभावित हुने अनुमान गरिएको छ । त्यसमध्ये १७ लाख बाढीबाट र एक लाख २० हजार पहिरोबाट प्रभावित हुने अनुमान छ ।
यस वर्ष कोरोना महामारी त छँदैछ, सँगसँगै बाढी, पहिरो, सर्पदंश वर्षायाममा आउने विपत्ले चिन्ता थपेको हो तर यी प्राकृतिक प्रकोप र विपत्बाट बच्ने र बचाउने तथा क्षति कमभन्दा कम गर्न आवश्यक तयारी पनि सुरु भइसकेको छ ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ निर्माण गरिसकेको छ । कार्यान्वयन कसरी गर्ने भन्नेबारे उत्तिकै चुनौतीपूर्ण छ । त्यसकै लागि विपत् जोखिम न्यूनीकरणका लागि राष्ट्रिय कार्यमञ्चको आयोजनामा बुधबार भएको वृहत् वेबिनारमा सरोकारवाला निकायका पदाधिकारीले पूर्वतयारीको कार्ययोजना कार्यान्वयनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
त्यस कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय प्रतिनिधि सारा बेस्लो नायन्तीले नेपाल विविधताको देश भएकाले पनि विपत्का धेरै चुनौती रहेको विचार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल सरकारसँग संयुक्त राष्ट्रसङ्घ सधँै साथमा छ । कोभिड महामारी, मनसुनको जोखिम र आर्थिक सङ्कटलाई ध्यानमा राखेर योजना बनाउनुपर्छ ।”
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले विपत्ले अवसर पनि ल्याउने चर्चा गर्दै विपत्को जोखिम कम गर्न सबै निकायबीच सहकार्य र साथसाथै काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।