निषेधाज्ञा खुकुलो भएसँगै सवारी साधनको चाप बढ्यो

काठमाडौं,१ असार । कोभिड–१९ सङ्क्रमण ओरालो लागेसँगै काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएसँगै सडकमा सवारी चाप बढेको छ ।
उपत्यकाका तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि सात गतेसम्म थप्ने निर्णय गरेको थियो ।
थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिदविक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ ।
यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि विहान ११ बजेसम्म मात्र गर्न पाइने छ । पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ ।
विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल ) दिउँसो चार बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ ।