माधब नेपाल समूह अनेरास्ववियुले गठन गर्यो अखिल फोर्स

काठमाडौ असार ३१ नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समूहको अनेरास्ववियुले अखिल फोर्स गठन गरेको छ । एमाले संस्थापन (अध्यक्ष केपी ओली) पक्षले युवा संघले युथ फोर्स पुनर्गठन गरेपछि वरिष्ठ नेता नेपाल समूहले त्यसलाई काउन्टर दिन अखिल फोर्स गठन गरेको हो ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा तपेन्द्रजंग शाहीको नेतृत्वमा ५०१ सदस्यीय अखिल फोर्सको घोषणा गरिएको नेपाल समूहको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

उनले वरिष्ठ नेता नेपाललगायतका आफ्ना नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली पक्षधरबाट धम्कीपूर्ण व्यवहार प्रस्तुत भइरहेको भन्दै त्यसविरुद्धमा प्रतिकार गर्न अखिल फोर्स गठन गरिएको बताए । अध्यक्ष पराजुलीले ओली पक्षीय युवा विद्यार्थीले माधव नेपालको घर घेर्ने समाचारहरू बाहिर आएको भन्दै माधव नेपालको घरतर्फ कसैले आँखा लगाए वा खुट्टा लम्काए आफूहरू भौतिक कारबाहीमा उत्रिने चेतावनी समेत दिए ।

उनले अखिल फोर्सलाई अराजकता मच्याउनेहरूका विरुद्धमा परिचालन पनि गरिने बताए । अध्यक्ष पराजुलीले देशभरका क्याम्पस र जिल्लामा अखिल फोर्स गठन हुने पनि बताए ।

३१ असार २०७८, बिहीबार