पर्यटन क्षेत्रमा अनिवार्य गरिएको क्वारेनटाइन व्यवस्था हटाउन माग

काठमाडौँ। पर्यटन क्षेत्रका छाता सङ्गठनहरूले संयुक्त रूपमा  स्वास्थ्य राज्यमन्त्रीलाई विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएका छन् ।कोरोनाले गर्दा करिब २ वर्ष देखि ठप्प र शिथिल बनेको पर्यटन क्षेत्रको पुन सुरुवातका लागी खोप मात्रै एक विकल्प रहेको बताउँदै सङ्गठनहरूले छिटो भन्दा छिटो सबै जनतालाई खोप लगाउने वातावरण मिलाउन मन्त्री उमेश श्रेष्ठलाई आग्रह गरेका हुन ।नवनियुक्त मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै व्यवसायीहरूले खोपको मात्रा पुरा लगाएका र नेपाल घुम्न चाहने पर्यटकलाई पिसिआर गराई क्वारेनटाइन बस्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन् ।

कोरोना पोजेटिभ देखिएका पर्यटकलाई अनिवार्य क्वारेनटाइनको व्यवस्था गरे पनि नेगेटिभ रिपोर्ट आएका पर्यटकलाई सहजताका साथ नेपाल घुम्ने वातावरण मिलाई पर्यटन क्षेत्रलाई पुन सुचारु गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन् ।त्यसै गरी स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यान्वयन गर्न र प्रभावकारी बनाउन देशव्यापी रूपमा तालिम तथा अनुगमनको व्यवस्था गरिनुपर्ने उनीहरूले माग गरेका छन् ।ज्ञापन पत्र बुझ्दै स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको समस्या सँग आफू जानकार रहेको र फ्रान्लाटइनरलाई खोप लगाउन कसरत गरिरहेको भन्दै  क्वारेनटाइनको व्यवस्था हटाउन आफूले पनि कुरा राखिरहेको र केही दिन भित्रमा नै निर्णय गरेर सूचना निकालिने वहाँले बताउनुभयो ।

पर्यटन व्यवसायीको माग जायज भएको र आर्थिक हिसाबले यस क्षेत्रले भोग्नुपरेको समस्यालाई छिट्टै नै सम्बोधन गरिने समेत मन्त्री श्रेष्ठले प्रतिबद्धता जनाउनु  भएको छ । विशेष पर्यटकीय गन्तव्यका स्थलका सर्वसाधारणहरूलाई केन्द्रित गरेर खोप लगाउने र पर्यटकीय गन्तव्यहरूलाई खुलाउन आफू दृढ भएको र योजना बनाएर काम गरिरहेको समेत उहाँले जानकारी गराउनु भयो।

सेप्टेम्बर र अक्टोबरमा पनि पर्यटकीय क्षेत्र र संस्थाहरू खुलेनन्  भने पर्यटन व्यवसायीहरू पलायन हुने अवस्थामा पुगिसकेको र व्यवसायी पलायन हुँदा यहाँ बाट रोजगारी पाएका जनशक्ति सँगै सबैको लगानी नै खतरामा पर्ने टानका अध्यक्ष खुम बहादुर सुवेदीले बताउनु भयो ।

नाटाका अध्यक्ष अच्युत गुरागाईँले व्यवसायीहरू सूचना बाट टाढिनु परेको र गलत सूचनाको सिकार हुनुपरेको कुरा जानकारी गराउँदै सी सी एम सी को टिम मा एक जना भए पनि पर्यटन व्यवसायीलाई समेटी दिन आग्रह गर्नुभयो ।

पर्यटन क्षेत्रसँग आबद्ध यी संस्थाहरूले बारम्बार क्वारेनटाइन हटाउनुपर्ने माग र खोपको माग गर्दै ज्ञापन बुझाउँदै आएका छन् तर कुनै पनि मन्त्री तथा मन्त्रालय र सरकारले  सकारात्मक सम्बोधन गरेको देखिँदैन।

२ भाद्र २०७८, बुधबार