फुटुङ्गको इतिहास, संस्कृति र विकासबारेको पुस्तक सार्वजनिक

तारकेश्वर ।  काठमाडौंको उत्तरी भेगमा अवस्थित फुटुङ्ग क्षेत्रको इतिहास, संस्कृति र पछिल्ला चार दशकको विकासका विभिन्न पक्षलाई समेटेर तयार पारिएको पुस्तक सार्वजनिक गरिएको छ । झण्डै दुई दशकदेखि सामाजिक विकास र सञ्चार क्षेत्रमा क्रियाशील श्रीराम फुटुङ्गेले लेख्नुभएको फुटुङ्गः इतिहास, संस्कृति र विकास नामक पुस्तक सार्वजनिक गरिएको हो ।
पुस्तक विमोचन गर्दै इतिहासकार एवम् लेखक प्रा. डा राजेश गौतमले यथेष्ठ विषय पस्केकाले फुटुङ्गको इतिहास र परिवर्तनका विभिन्न पक्षलाई सरल भाषामा चित्रण गरिएको बताउनुभयो । पुस्तक प्रकारको साँस्कृतिक लघु विश्वकोष झै लागेको गौतमको भनाइ थियो । समारोहमा विकास अर्थशास्त्री प्रा. डा केशवराज खड्काले पुस्तकले स्थानीय संस्कृति र विकासको पाटो सरल तवरमा प्रस्तुत गरेको बताउँदै विकास र संस्कृतिलाई परिपूरकको रुपमा लिएर अघि बढ्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । उहाँले पुस्तक स्थानीय विशिष्ट गन्थ्रको रुपमा आएको र अन्य समुदायलाई पनि यस प्रकारको पुस्तक प्रकाशन गर्न उत्साहित गर्ने बताउनुभयो ।
विमोचन कार्यक्रममा बोल्दै साहित्यकार लब गाउँलेले लेखक फुटुङ्गेको अधिक मेहनतले यो पुस्तक प्र्रकाशन संभव भएको सुनाउनु भयो । उहाँले आफ्नो ठाउँलाई युवा उमेरदेखिनै चिनाउन विभिन्न प्रयास गरेको पनि गाउलेले उल्लेख गर्नु भयो । कार्यक्रममा मनमैँजु साँस्कृतिक समाजका साहित्य विभाग प्रमुख डा.घनश्याम पुडासैनीले पुस्तकको सफलताको कामना गर्दै लेखको सम्पादकीय सीप र गैरआख्यान लेखनबारे विशिष्ट ज्ञान भएको आफूले पाएको बताउनु भयो । उद्यमी एवं समाजसेवी हरिकृष्ण रावलले फुटुङ्गलाई चिनाउन यो पुस्तकले थप मदत गर्ने बताउँदै लेखकको प्रयासको सराहाना गर्नुभयो ।
संस्कृतिकर्मी भक्तीनारायण महर्जनले पुस्तकले नलेखिएका सास्कृतिक पक्षहरु पुस्तकमा आउनु विशेष रहेको बताउनु भयो ।विमोचनका अवसरमा तारकेश्वर नगरपालिकाका प्रशासनिक प्रमुख शिव लम्सालले पुस्तकमा अत्यन्तै मेहनत परेको र आगामी दिनमा अन्य कृतिहरु प्रकाशनका लागि क्रियाशील हुन लेखकलाई सुझाउनु भयो ।
पुस्तकमा फुटुङ्गको इतिहास, संस्कृति र विकासका विविध पक्ष तथा बदलिएको जीवन र आगामी दिन गर्नुपर्ने बिषय समेटिएको लेखक फुटुङ्गेको भनाइ छ । उहाँका अनुसार, फुटुङ्गको पहिचानलाई चिनाउने र फुटुङ्गको बारेमा लिखित सामग्रीको अभावलाई पूर्ति गर्ने प्रयास स्वरुप लामो समयको प्रयासपछि पुस्तक तयार भएको हो ।
पुस्तकमा फुटुङ्ग गाउँको इतिहास, धार्मिक र साँस्कृतिक पक्ष तथा २०४० को दशकमा गाउँको सामाजिक परिवेश अनि क्रमशः शहरी इलाका बन्दै गएको घटनाक्रमको चित्रण गरिएको छ । त्यस्तै, जीविकोपार्जन र फुटुङ्गको आधुनिक विकास, त्यसमा स्थानीय तह र विभिन्न संघसंस्थाको योगदानलाई समेत पुस्तकमा व्याख्या गरिएको छ ।
पुस्तकको पहिलो खण्डमा उक्त गाउँको ऐतिहासिकता, वस्ती विकास तथा विभिन्न जातिको बसाइसराइपछि आगमनका विविध पक्षलाई उतारिएको छ । लिच्छविकालमा अस्तित्वमा आएको मानिएको फुटुङ्गमा जातिय विविधतासहितको बसोबास रहेको पुस्तकले चर्चा गरेको छ । फुटुङ्गको पहिलो रैथाने मानिएका नेवार समुदायको धार्मिक चाडपर्व, जात्रा, संस्कृति, भजनलाई समेत छुट्टै खण्डमा चर्चा गरिएको छ । काठमाडौं उपत्यकाका अन्य ग्रामीण भेग जस्तै फुटुङ्गमा पनि नेवारी समुदायले बर्षभरि मनाउने जात्राका रोचक र ऐतिहासिक पक्ष पुस्तकको एउटा विशेषता हो । त्यस्तै, उनीहरुको परम्परा र गुठीसम्वन्धी ऐतिहासिक वर्णन पुस्तकमा पढ्न पाइन्छ । फुटुङ्ग क्षेत्रमा नेवार समुदायको ६ वटा गुठी प्रचलनमा रहेको विवरण पुस्तकमा छन् । प्राचीनकालदेखिका मठमन्दिर एवम् धरोहर संरक्षणका लागि भएका पहलसम्वन्धी विवरण पुस्तकमा समेटिएको छ । पुस्तकअनुसार फुटुङ्गमा १८ वटा मठमन्दिर छन् ।

७ बैशाख २०७९, बुधबार