साहित्य सङ्गमले चार जना स्रष्टालाई सम्मान गर्ने

काठमाडौ । साहित्य सङ्गम मकवानपुरले हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कार यसवर्ष जेठ २२ गते विशेष साहित्यिक कार्यक्रमको आयोजना गरेर प्रदान गर्ने भएको छ ।

सङ्गमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई प्रदान गर्ने भएको छ । रिमालका परिवारले स्थापना गरेको सम्मानको राशी २० हजार एक रुपैयाँ रहेको छ ।

त्यसैगरी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालय सङ्गममा स्थापना गरेको प्रगतीवादी कवि श्यामप्रसाद शर्माको स्मृतिमा स्थापना गरेको ‘श्यामप्रसाद शर्मा स्मृति सम्मान’–२०७८ यसवर्ष साहित्यकार तथा पत्रकार नवराज शर्मा तिमल्सिनालाई प्रदान गरिदैछ । यस सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।

यस्तै, हास्यव्याङ्ग्यकार डा. गणेशकुमार पौडेलले स्थापना गरेको ‘शान्तिदेवि स्मृति वनस्खण्डी साहित्य सम्मान’–२०७७ र ०७८ का लागि यसवर्ष क्रमशः लघुकथाकार तथा कवि श्रीओम श्रेष्ठ (रोदन) र कवि शान्तिप्रिय वन्दनालाई प्रदान गरिने भएको छ । पौडेललेले सासुआमाको नाममा स्थापना गरेको सम्मानको राशी जनही १० हजार एक रुपैयाँ रहेको छ । कवि श्रेष्ठ गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादक हुन् ।

साहित्यका विभिन्न पाटोमा काम गर्दै आएको सङ्गमले साहित्यका विभिन्न क्षेत्रमा योगदान पुर्याउने स्रष्टाहरुलाई सम्मान गर्दै आइरहेको संस्थाकी अध्यक्ष अनिता न्यौपानले जानकारी दिइन् । उनले जेठ २२ गते हेटौंडा–२ मा रहेको धार्मिक पर्यटकीय स्थल वनस्खण्डीमा हुने विशेष साहित्य कार्यक्रम आयोजना गरेर सम्मान प्रदान गरिने उनले बताइन् ।