आज २५६६ औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौ । आज २५६६औँ बुद्धजयन्ती । शान्तिका अग्रदूत गौतमबुद्धको पूजा–आराधना गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाउने गरिन्छ ।

सदा झैं यसबर्ष पनि विश्वभर बौद्ध धर्माबलम्बीहरुले विशेष पूजापाठ गरी बुद्ध जयन्ती मनाइरहेका छन् । नेपालको लुम्बिनीमा इसापूर्व ५४३ मा सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो। यसै दिन उनले ज्ञान प्राप्त गरेका थिए भने महापरिनिर्वाण पनि यसै दिन प्राप्त गरेका थिए । तीनै घटना एकै दिन भएको सन्दर्भलाई संझना गरेर हामी बुद्ध जयन्ती मनाउने गर्दछौं।

बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो। उनी जन्मना साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएका थिए भन्ने किंवदन्ती छ। यसका अनुसार उनी महाआत्मा रहेका र भगवानको धर्तीमा भएको अन्तिम अवतार रहेको जानकारी र जनाऊँ भएको मानिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै दिन परेकाले यस दिनलाई विश्वका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गरेर बुद्धजयन्ती मनाउने गर्छन् । आज बुद्धको जन्मभूमि लुम्बिनीमा ठूलो मेला लाग्छ ।