पाँच जनालाई सूचक सम्मान

काठमाडौ । सूचक प्रकाशनले साहित्यकार मोहन दुवाल, साहित्यकार हरि मन्जुश्री, साहित्यकार धुर्व मधिकर्मी, समाजसेवी शंकर खड्का तथा पत्रकार भगवती तिमिल्सिनालगायत पाँच जनालाई २०७९ सालको सूचक सम्मानबाट सम्मानित गर्ने भएको छ ।

hims school

साहित्यिक पत्रकारिताको माध्यमबाट नेपाली भाषा र साहित्यको विकासमा सक्रिय जनमत प्रकाशनका अध्यक्ष एवं साहित्यकार मोहन दुवाललाई सूचक साहित्यसेवा, नेपाली भाषा, संस्कृति, संस्कार र मौलिकताको उत्थानमा भूमिका खेल्दै आएका शब्दयात्रा प्रकाशनका अध्यक्ष एवं साहित्यकार हरि मन्जुश्रीलाई सूचक संस्कृतिसेवा, नेपाली साहित्यको समालोचना लेखनमा महत्त्वपूर्ण योगदान दिँदै आएका साहित्यकार धुर्व मधिकर्मीलाई सूचक साहित्य साधना सम्मानबाट सम्मानित गर्ने भएको छ ।

यस्तै समाजसेवाको माध्यमबाट सामाजिक विकासमा सक्रिय रहँदै आएका समाजसेवी शंकर खड्कालाई सूचक कृष्ण बहादुर समाजसेवा सम्मान र राष्ट्रिय मूलधारको पत्रिकाबाट तीन दशकदेखि पत्रकारितामा सक्रिय रहँदै आएकी पत्रकार भगवती तिमिल्सिनालाई सूचक पत्रकारिता सम्मान समर्पण गर्न लागिएको सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवाल (दीपसागर) ले बताएका छन् । उक्त सम्मान आगामी असार १८ गते बनेपामा विशेष समारोह आयोजना गरेर प्रदान गर्ने सूचक प्रकाशनले जनाएको छ ।