टोखा केवमा पौडी, खिर र सिर्जना कार्यक्रम सम्पन्न

काठमाडौं । साउन १५ गतेलाई नेपाली समाजमा विशेष महत्वको दिनको रुपमा लिने गरिन्छ । असार १५ देखि वर्षामा गरिने खेति सुरु हुने र साउन १५ तिर खेती समापन हुने भएकोले यी दिनहरुलाई कृषि प्रणालीसित जोडेर पनि हेर्ने गरिन्छ ।
वर्षातको हरियाली समय र खेतमा धान रोपाइँ गर्दा धेरै दिनसम्म पानीमा भिजिने भएकोले चिसोका कारण विरामी हुन सकिने भन्दै विभिन्न जडिबुटी मिसाएर बनाइएको खीर खाँदा चिसोबाट हुने रोगबाट बच्न साउन १५ मा खिर खाने चलन चलाइएको बताइन्छ ।
यसैबीच विभिन्न तीनवटा संस्थाहरूको आयोजनामा काठमाडौंको टोखामा साउन १५ मनाइएको छ । साउन १५ लाई खिर खाने दिन पनि भनिन्छ । नेपालमा ठाउँ अनुसार यो पर्वलाई विभिन्न तरिकाले मनाउने गरिन्छ । तर काठमाडौंमा साहित्यकार खेलकुद समाज, खोज अनलाइन र साहित्य तथा संस्कृति विचार मञ्चको आयोजनामा खीर खाने, पौडी खेल्ने र रचना वाचन कार्यक्रम गरी यो पर्व मनाइएको छ ।
टोखा नगरपालिका–३, टोखामा रहेका टोखा केबमा कार्यक्रमको आयोजना गरी साउन १५ को अवसर पारेर साहित्यकारहरूले पौडी खेल्ने, खीर खाने र रचना वाचन गरी भव्य र सभ्यतापूर्वक साउन १५ मनाएका छन् ।
पौडी खेल्ने र खीर खाने कार्यक्रम लगत्तै दर्जन बढी साहित्यकाहरुले आआफ्ना रचना वाचन गरे । रचना वाचन कार्यक्रममा रत्नप्रसाद अनामणि श्रेष्ठ, टंकबहादुर खत्री, दीपक बानियाँ, सुशान्त डंगोल, प्रशान्त डंगोल, माधवलाल श्रेष्ठ, दुर्गा भमरकोटे, राधा कार्की, राजेन्द्र घिमिरे सागर, डा.उदेश पाण्डे, उमेश पाण्डे, वासुदेव ठकुरी, रेणु अधिकारी ‘मौनता’, तारा केसी, गुप्तबहादुर श्रेष्ठ, जेपी नेपाल लगायतले आआफ्ना रचनाहरू वाचन गरेका थिए ।
वाचन गरिएका रचनाहरूमार्फत समाजमा रहेका विकृति, विसंगती र तिनले नेपाली समाजमा पारेका असरहरूलाई उजागर गरिएको थियो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि रेणु अधिकारी मौनताले साहित्यले समाजमा रहेका कुराहरुलाई यथार्थरूपमा बाहिर ल्याउनमा सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा साहित्यकार गुप्तबहादुर श्रेष्ठले दुःख गरेर भएपनि आफ्नो र समाजको लागि साहित्यलाई उपयोग गर्नुपर्ने धारणा राख्नुभएको थियो । उहाँले सबै मान्छे साहित्यकार भएपनि रचना व्यक्त गर्ने मञ्च नपाइरहेको बताए । साथै सभापति श्रेष्ठले साहित्य र संस्कृति मासियो भने देश पनि मासिन्छ भन्दै कुनै पनि हालतमा साहित्य र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । एक प्रसङ्गमा श्रेष्ठले नेपाली संस्कृतिलाई पश्चिमा संस्कृतिले गाँजेकोले यसबाट छुट्कारा पाउनका लागि नेपाली साहित्यकार लाग्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा टोखा केवका सञ्चालक सुशान्त डंगोल विशिष्ट अतिथिका रुपमा उपस्थित हुनुभएको थियो । कार्यक्रममा टोखा केवको तर्फबाट सञ्चालक सुशान्त डंगोलले केवको तर्फबाट प्रकाशन गरिएका २ वटा पुस्तक कार्यक्रमका सभापति रेणु अधिकारीलाई हस्तान्तरण गर्नुभएको थियो ।
साहित्यकार रत्नप्रसाद श्रेष्ठ अनामणिले संयोजन र तारा के.सी.ले सञ्चालन गर्नुभएको कार्यक्रममा पत्रकार जीवन हमाल र हरि के.सी., साहित्यकार सुशीला ढकाल अधिकारी र पार्वती थपलियाको पनि उपस्थिति रहेको थियो ।