प्रेस युनियनको अध्यक्षको उम्मेदवारी घोषणा गरेका सन्तोष को हुन् ?

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारको संस्था प्रेस युनियनको महाधिवेशन नजिकिँदै जाँदा उम्मेदवारी घोषणाको क्रम पनि बढेको छ ।
सबैले आफ्नो एजेण्डासहित उम्मेदवारी दिएका छन् । अध्यक्षको तयारीमा पहिलेदेखि नै लागेका सन्तोष न्यौपाने पनि पत्रकारको पक्षमा हकहित गर्ने उद्येश्य लिएर मैदानमा उत्रिएका छन् । नेपाल टेलिभिजनमा काम गर्दै गरेका उनी २० वर्षदेखि पत्रकारितामा निरन्तर सक्रिय छन् । ‘मैले पत्रकारको पीडा बुझेको छु, म आफैं सक्रिय भएर लागेकाले पत्रकारले भोग्नुपरेको पीडाको सम्बोधन गर्न मेरो उम्मेदवारी हो’ उनले भने ‘ पत्रकारलाई अप्ठ्यारो पर्दा नबोल्ने र नेतृत्वमात्र लिन खोज्नेहरुले पत्रकारिता र पत्रकारको वास्तविक मर्म बुझ्न सक्दैनन् ।’ राष्ट्रिय समाचार समिति (रासस) का बोर्ड मेम्बरसमेत भइसकेका उनमा इमेज च्यानलमा काम गरेको अनुभव पनि छ । 
तपाइको उम्मेदवारी किन ? भन्ने प्रश्नमा उनले भने ‘ मेरो एकमात्र एजेण्डा पत्रकारको पक्षमा काम गर्ने हो, कतिपय मिडिया हाउसले पत्रकारलाई प्रयोग मात्र गरेका छन्, तलब दिएका छैनन् त्यसका विरुद्ध पनि कठोर भएर लड्छु ।’ उनले पत्रकारको पेसागत सुरक्षाको निम्ति आफू लड्ने बताएका छन् । व्यवसायिक पत्रकारितामा विश्वास राख्ने सयौं पत्रकारहरु पीडामा काम गर्न बाध्य रहेको उनले बुझेका छन् । पत्रकारका यस्ता समस्यालाई सम्बोधन गर्न प्रेस युनियनमार्फत् आफू अघि बढ्नु जरुरी रहेकोले आफूले उम्मेदवारी दिएको उनले बताए । उनी प्रेस युनियनका पूर्व सचिव पनि हुन् ।
उनले महाधिवेशन प्रतिनिधि भएर आउने पत्रकार साथीहरुसँग आफ्नो अमूल्य मत मागेका छन् । ‘म पत्रकारको साझा उम्मेदवार हुँ, सबैको साझा हितको लागि काम गर्छु’ उनले भने ‘ मैले मिडिया बुझेको छु, मिडिया सञ्चालक र पत्रकारबीच बिग्रिएको सम्बन्ध सुधार्ने काम गर्छु ।’