तारकेश्वर नगरपालिकाले पाँच थरी बिऊ र औजारमा गरी १३ लाख अनुदान बाँड्दै
तारकेश्वर, ४ कात्तिक । तारकेश्वर नगरपालिकाले अघिल्लो वर्षझैं यो वर्षपनि कृषकहरुलाई ५ थरी बिउबिजन र औजारमा ६० प्रतिशत अनुदान दिने भएको छ ।
अघिल्लो वर्ष १० जनालाई वितरण गरिएको अनुदानमा धेरैजसो व्यवसायिक संस्थाहरु परेको र असली किसानहरुले भने राहत नपाएको गुनासो बढिरहेका बेला यो वर्ष नगरपालिकाले अनुदानका लागि १३ लाखको बजेट छुट्याएको हो । नगरपालिकाको कृषि शाखाकी मिना थापाका अनुसार अनुदान कार्यक्रम अन्तर्गत कन्ने च्याउ, सिइताके च्याउ, गहुँको बीऊ, सानो ट्याक्टर र प्लाष्टिक टनेलमा अनुदान दिन लागिएको हो । नगरपालिकाले ६० प्रतिशत अनुदान दिने यस कार्यक्रममा किसान, सहकारी वा फर्मले ४० प्रतिशत लगानी गर्नुपर्ने हुन्छ ।
नगरपलिकाले कन्ने च्याउको बिऊमा प्रति पाउ ३२ रुपैयाँ अनुदान दिने भएको छ भने सिइताके च्याउमा प्रतिकेजी ३ सय ८० रुपैयाँ, गुहँको बिउमा प्रतिकेजी १२० र प्लाष्टिक टनेलमा प्रति टनेल ७ हजार ६ सय ८४ रुपैयाँ अनुदान दिने तयारी गरेको छ । नगरपालिकाले खेज जोत्ने मिनि ट्याक्टर भने किसानलाई मात्र दिने सहकारी वा फर्मलाई नदिने निर्णय गरेको शाखा प्रमुख थापाले तारकेश्वर अनलाईनलाई जानकारी दिइन् ।
अनुदान कार्यक्रम सञ्चालन गर्न नगरले गहुँको बिउमा १ लाख ४० हजार, सिताइके च्याउमा ५० हजार, कन्ने च्याउ १ लाख, मिनिटिलरमा ६ लाख र प्लाष्टिक टनेलमा ५ लाख छुट्याएको छ । अघिल्लो वर्ष १० जनाले मात्र अनुदान पाउँदा धेरै निवेदकहरु निराश भएका थिए । यसपाली पनि किसान तथा फर्म एवं सहकारीहरुको हरुको निवेदन आइरहेको नगरको कृषि शाखाले जनाएको छ । यसपाली भने कम्तिमा २० जना किसान वा फर्म, सहकारीलाई अनुदान गर्ने नगरको उद्देश्य छ । कुषि अनुदानमा नगरले लाखौं लगानी गरेपनि असली अनुदानका हकदार निम्न आय भएका भूमिहिन, जग्गाहिन किसानहरुले भने राहत पाउन सकेका छैनन् । अनुदानका नाममा व्यवसायिक संस्था र पुँजिपतिहरुले राहत पाएपनि असली किसानकहाँ अनुदान कहिले पुग्ला ?