तारकेश्वरले खोल्यो जग्गाको कित्ताकाट, अब ४ आना २ पैसाभन्दा कमको कित्ताकाट गर्न नपाइने

तारकेश्वर, ४ कात्तिक । तारकेश्वर नगरपालिकाले नयाँ स्थानीय सरकार आएसँगै बन्द गरेको जग्गाको कित्ताकाट खुलाएको छ । चुनावको मुखमा संघीय मन्त्रालयको परिपत्र अनुरुप भन्दै नगरपालिकाले कित्ताकाट सुरु गरेको हो ।

नगर कार्यपालिकाका प्रवक्ता वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गीका अनुसार अबदेखि वडाले कित्ताकाटको सिफारिस नगरपालिकाको भूमि सम्बन्धी समितिमा पठाउनुपर्नेछ र सो समितिको स्वीकृतिपछि कित्ताकाट गर्नुपर्ने नियम बनाइएको छ । ‘हामीले नगरमा एउटा भूमि समिति बनाउँछौ, त्यसमा वडाहरुले पठाएको सिफारिसहरुलाई अध्ययन गरेर स्वीकृति दिइन्छ ।’ खड्गीले बताए ।

उनका अनुसार अब कम्तिमा ४ आना २ पैसाभन्दा कमको कित्ताकाट गर्न मिल्दैन । घरजग्गा व्यवसायीले साँढे दुईआनादेखि जग्गा कित्ताकाट गराएर बेच्ने गरेको अवस्थामा नगरले नयाँ मापदण्ड अघि सारेको हो । यस लगायत नगरको भूमि समितिले तय गर्ने मापदण्ड पुगेका जग्गाको मात्र कित्ताकाट गर्न पाइन्छ ।

कृषियोग्य जमिनको निवेदन नै परेन
नगरपालिकाले जग्गाको वर्गिकरण गरि कृषियोग्य जमिनमा घडेरी लगायतका प्रयोजनका लागि कित्ताकाट गर्न नदिने भनेपनि जग्गाधनीहरुले कृषियोग्य जमिन दावी गरेर निवेदन नै पेश नगरेको प्रवक्ता खड्गीले तारकेश्वर अनलाईनलाई जानकारी दिए । ‘हामीले कृषियोग्य जमिन दावी गरि निवेदन पेश गर्न आह्वान गरेका थियौं । तर, निवेदन एकदमै न्यून आयो । कतिवटा वडाबाट त शुन्य निवेदन आयो ।’ उनले थपे ।

कित्ताकाट बन्द भएपछि पछिल्लो समय घरजग्गाा व्यवसायीहरु सुस्ताएका थिए । निर्वाचनको मुखैमा कुनै ठोस विधि नबनाई कित्ताकाट सुरु गरिनुलाई कतिपयले मतदाता रिझाउने सरकारको निन्जा टेक्निक भएको टिप्पणी गरेका छन् ।

४ कार्तिक २०७९, शुक्रबार