अघिल्लो हारको पीडा भुलाउने दाउमा तिमिल्सिना, भन्छन्ः म जति जनतासँग भिजेको कोही छैन

तारकेश्वर, ५ कात्तिक । विसं २०४७ सालमा साविक धर्मस्थली गाविसको ग्रामसेवा मावीको नेबिसंघ सभापति भएर राजनीति सुरु गरेका काँग्रेस नेता विष्णुभक्त तिमिल्सिना काँठक्षेत्रका परिचित राजनीतिकर्मी हुन् ।
नेपाली काँग्रेसको गाउँ कार्यसमिति धर्मस्थलीको सहसचिव, दुई कार्यकाल सचिव र अध्यक्ष हुँदै काँग्रेसको राजनीतिमा अघि बढेका तिमिल्सिना काठमाडौं क्षेत्र नं ६ को संगठन विभाग प्रमुख हुँदै काँग्रेसका उम्मेदवारहरुलाई पटक पटक संसदीय चुनाव जिताउन सारथी बने । २०६२/६३ को आन्दोलनमा अग्रमोर्चामा खटिएका तिमिल्सिना आफुलाई नेपाली काँग्रेस र जनताको असली सिपाही दावी गर्छन् ।
तारकेश्वर अनलाईनसँग कुरा गर्दै तिमिल्सिनाले भने ‘यो भूगोल र पार्टीको संगठनमा म जत्तिको भिजेको कोही छैन ।’
हाल नेपाली काँग्रेस क्षेत्र नं ६ (ख) को सभापति रहेका तिमिल्सिना अघिल्लो पटक बामगठबन्धनसँगको हारको बदला लिने आत्मविश्वासमा देखिन्छन् । तत्कालिन धर्मस्थली गाविस र हालको तारकेश्वर नगरपालिकामा जनप्रतिनिधि नआउँदासम्म सर्वदलीय समितिमा काँग्रेसको तर्फबाट प्रतिनिधि बनेका तिमिल्सिनाले भूकम्पपछि आफ्नै पहलमा तारकेश्वर नगरपालिकमा ४ सय वटा घरटहरा निर्माण गरेको स्मरण गराए ।
अघिल्लो पटक बामगठबन्धनका उम्मेदवार योगेन्द्र संग्रौलासँग पराजित भएका तिमिल्सिना यसपटकको स्थानीय तहको निर्वाचनको मतपरिणामले पनि उत्साहित देखिन्छन् ।आफ्नो क्षेत्र पर्ने तारकेश्वर र टोखाका सबै वडामा काँग्रेसको बहुमत रहेको भन्दै तिमिल्सिनाले आफ्नो जीत निश्चित भएको जिकिर गरे ।
नेपाली काँग्रेस र गठबन्धनको मतले आफ्नो जीत हुने भन्दै तिमिल्सिनाले आफु प्रदेश सांसद भएपछि मुख्यगरि क्षेत्रको विकासनिर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्ने बताए ।
५ कार्तिक २०७९, शनिबार