तारकेश्वरमा एमाले र नेकपा एसको चुनावी तँछाडमछाड, एउटै समयमा राखे कार्यक्रम

तारकेश्वर, ५ कात्तिक । संघीय र प्रदेश निर्वाचन नजिकिँदै गर्दा देशैभर चुनावी माहोल बनेको छ । राजनीतिक पार्टी र तिनका संगठनले आफ्ना उम्मेदवार जिताउन ठाउँठाउँमा शुभकामना र चियापान कार्यक्रम राखेर मतदाता रिझाउने प्रयास गरिरहेका छन् । चुनावलक्षित कार्यक्रम गर्न तँछाडमछाड गरिरहेका पार्टीहरुमध्ये तारकेश्वर नगरपालिकामा भने प्रमुख प्रतिपक्षी पार्टी नेकपा एमाले र सत्ताधारी पार्टी एकीकृत समाजवादीबीच राम्रै तँछाडमछाड देखिएको छ ।

तत्कालिन एमालेमा सँगै काम गरेका एउटै संगठनका नेता कार्यकर्ताहरु पार्टी फुटेपछि आफ्नो क्षेत्रमा आफ्नै पार्टीको दवदवा बढाउन कम्मर कसेर लागेका हुन् ।
यसैको शिलशिलास्वरुप तारकेश्वर नगरपालिकामा शनिवार एमाले र एकीकृत समाजवादीले एकपटक कार्यक्रम राखेका छन् । शनिवार बिहान साँढेसातमा एमालेले दियालो फुडल्याण्ड नेपालटारमा कार्यकर्ता भेटघाट तथा चियापान कार्यक्रम गरिरहँदा एकीकृत समाजवादीले भने लामबगरको तारकेश्वर मल्टीभेन्यूमा कार्यक्रम राखेको थियो । निर्वाचन नजिकिँदै गर्दा तारकेश्वर भित्र एमाले र समाजवादीबीच कार्यकर्ता खोसाखोसपनि चलेको छ ।

करिब दुइहप्ता अघि एकीकृत समाजवादी छाडेर तारकेश्वर नगरका पार्टी अध्यक्ष लब बस्नेतसहित पूर्व वडाध्यक्षहरु रवीन्द्र केसी र मधु कार्की लगायत एमालेमै फर्किएपछि दवावमा रहेको एकीकृत समाजवादीले शनिवारको कार्यक्रममा एकदर्जनभन्दा धेरै एमाले नेता कार्यकर्ता पार्टीमा प्रवेश गराएको दावी गरेको छ । चुनाव नजिकिँदै गर्दा कार्यकर्ताहरु कहिले यो पार्टी कहिले त्यो पार्टी भन्ने रोग व्याप्त भएका बेला संगठनमा आधारित एमाले र समाजवादीले एकैपटक कार्यक्रम राखेर सबैको कित्ता छुट्याउने प्रयास गरेको हुनसक्ने राजनीतिका जानकारहरुको भनाइ छ ।

शनिवारको कार्यक्रममार्फत नेकपा एमाले तारकेश्वरले निर्वाचन परिचालन कमिटि घोषणा गरेको छ भने एकीकृत समाजवादीले यस अघि नै नारायण श्रेष्ठलाई नगरअध्यक्ष बनाएर चुनावी गतिविधि सुरु गरिसकेको छ ।

५ कार्तिक २०७९, शनिबार