क्षेत्र नं ६( ख)का उम्मेदवार कुवँरको प्रश्नः अझै कतिवर्ष काँग्रेस-कम्युनिष्टलाई जिताउने ?

तारकेश्वर, ११ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवं राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियनका संस्थापक अध्यक्ष समेत रहेका चिरागमान सिंह कुवँर यसपाली राप्रपाको तर्फबाट काठमाडौं क्षेत्र नं ६ को प्रदेश (ख) बाट प्रदेश सांसद पदको उम्मेदवार रहेका छन् ।

तारकेश्वर नगरपालिका सांग्ला स्थायी घर भएका कुवँर झण्डै तीनदशक देखि राप्रपाको राजनीतिमा सक्रिय छन् । तारकेश्वर अनलाईनसँग कुरा गर्दै कुवँरले आफु सनातन धर्मसापेक्ष हिन्दुराष्ट्र सहित संवैधानिक राजसंस्थाको राजनीतिक एजेण्डा तथा उदार र कल्याण्कारी राज्यको आर्थिक एजेण्डासहित राजनीतिमा होमिएको बताउँछन् । उनले भने ‘काँग्रेस र कम्युनिष्टको शासन आएसँगै देशको अवस्था थप रुग्ण र अव्यवस्थित हुनथाल्यो । अब नयाँ नेतृत्व नआई हुँदैन भनेर जनताले बुझेका छन् । त्यसैले अबको विकल्प भनेको राप्रपा नै हो ।’

काठमाडौं क्षेत्र नं ६(ख) मा टोखा नगरपालिकाको वडा नं १,८ र ११ एवं तारकेश्वर नगरपालिकाको १,२,६,७,८,९,१०,११ नं वडा पर्छन । यसक्षेत्रका जनताको हितमा आफुले लामो समयसम्म सामाजिक, राजनीतिक रुपमा कार्य गरेको भन्द्रै कुवँरले अबको निर्वाचनमा जनताले न्याय गर्ने बेला आएको दावी गर्छन । प्रजातान्त्रिक ट्रेडयुनियनका माध्यमबाट मजदुर वर्गको अधिकारका लागि क्रियाशित कुवँर निर्वाचन जित्नेमा ढुक्क देखिन्छन् । उनले काँग्रेस, एमाले लगायत पार्टीलाई लक्षित गर्दै आक्रोश पोखे, ‘अझै काँग्रेस कम्युष्टिलाई भोट दिएर गल्ती गर्ने ? दशकौंसम्म देश निर्माण गर्न नसकेर राज्यदोहनमा मग्न दलहरुलाई जिताएर भावी सन्ततिलाई कस्तो देश छाडेर जाने हामीले ?

१२ कार्तिक २०७९, शनिबार