स्थानीय जनतामा नेत्रित्व नपुग्नु नै काठक्षेत्रको दुर्भाग्य

काठमाडौ ,। झोर निवासी भूतपूर्व सैनिक गोविन्द अधिकारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति नजिकिए पनि सडकमा माइकिङ गरी हिँड्नेबाहेक जनताको घरदैलोमा उम्मेदवार अझैसम्म नआएकोे, स्थानीय पार्टीका नेता तथा कार्यकर्ताको उत्साहमा कमी देखिएको, चोक तथा दोबाटोमा भेला भई झैझगडा एवं भनाभन गर्नेक्रम न्यून रहेको, निर्वाचनको माहोल सिर्जना नभएकोजस्तो देखिएको र निर्वाचन प्रचारप्रसारका क्रममा यसअघिका जस्तो तडकभडक नदेखिएकामा आश्चर्य प्रकट गर्नुहुन्छ ।

सोही क्षेत्रअन्तर्गतकोे तारकेश्वर नगरपालिका–१ साङ्ला निवासी श्यामकृष्ण कुँवर राजनीतिक पार्टी र तिनका नेताहरूलाई साथ दिँदैै आएको उपत्यकाको काँठक्षेत्र सदैव उपेक्षित हुनुपरेकामा दुःख व्यक्त गर्दै अब आवेगमा नभइ विवेकका आधारमा मतदान गरी काँठप्रेमी जनप्रतिनिधि छान्ने तयारी भइरहेको बताउनुहुन्छ ।

साङ्लाकी विष्णुमाया तामाङ भन्नुहुन्छ, “गाउँटोलमा निर्वाचनको हल्लीखल्ली भए पनि त्यसतर्फ लाग्ने फूर्सद छैन, काम नगरे खान पाइदैन, तर मङ्सिर ४ गतेका दिन भने सबैथोक छोडी मन परेको उम्मेदवारलाई भोट हाल्ने नै हो ।” पीछडिएका झोर तथा साङ्ला र आसपासका क्षेत्रमा रहेका अव्यवस्थित सडक तथा बाटोघाटो व्यवस्थित गर्न र शुद्ध पानी आपूर्ति गर्न प्रतिबद्धता व्यक्त गर्ने उम्मेदवारलाई मतदान गर्न विषयमा छलफल भइरहेको त्यहाँका बासिन्दा बताउँछन् ।

त्यस्तै कृषि, मलखाद, बिउबीजन, विषादी र प्राविधिकको व्यवस्था गर्न, कृषि तथा दुग्धजन्य उत्पादनको बिक्री कक्ष निर्माण गर्न, बेरोजगार स्थानीय युवालाई सीपमूलक तालिमको व्यवस्थासहित रोजगार बनाउन , कुलतमा फसेका युवाको जीवन सुधार गरी भविष्य सुनिश्चित गर्न, प्राविधिक तथा व्यावसायिक शिक्षालय स्थापना गर्न, ठूला लगानीका उद्योग सञ्चालनका लागि लगानी आकर्षित गरी रोजगारी सिर्जना गर्न र गाउँमै पेसा व्यवसायमा गरी खान पाउने व्यवस्था गर्नसक्ने उम्मेदवारलाई मतदान गर्ने पक्षमा काँठबासी रहेको देखिन्छ ।
उक्त निर्वाचन क्षेत्रमा बामलोकतान्त्रिक गठबन्धनका तर्फबाट पूर्वमन्त्री भीमसेनदास श्रेष्ठ, नेकपा एमालेको तर्फबाट पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनालसहित २४ जना प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा हुनुहुन्छ । रासस