तारकेश्वरको तजबीजः ६ महिनामा ४ किमि सडक पिच, भत्तामै बाँडियो सवा करोड

तारकेश्वर, ५ फागुन । तारकेश्वर नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै मेयर कृष्णहरी महर्जनले प्रत्येक पटक दोहोर्याउने विषय हो, मितव्ययिता । मितव्ययिता अपनाउँदै जनताको काममात्र गर्ने वाचा गरेका प्रमुख महर्जनको आक्रामक शैली देखेर धेरै जनताले शुसासन, विकास र प्रगतिको अपेक्षा गरेका थिए ।
तर, मेयर भएको ८ महिना हुँदा मेयर महर्जनले ४ किलोमिटर सडक कालोपत्रे गराएका छन् भने कर्मचारी र जनप्रतिनिधिलाई भत्ताका विभिन्न शीर्षकमा सवा करोड स्वाहा बनाएका छन् ।
चालु आर्थिक वर्षको ६ महिनामा १० प्रतिशतपनि पुँजिगत खर्च गर्न नसकेको नगर कार्यपालिकाले कर्मचारी प्रोत्साहनका नाममा आफैले बनाएका विभिन्न कार्यविधि तेस्र्याउँदै सवा करोड भत्ता बाँडेको हो । नगरपालिकाले उपलब्ध गराएका तथ्यांकका अनुसार पछिल्लो ६ महिनामा कर्मचारी प्रोत्साहन भत्तामा मात्र ८९ लाख १८ हजार खर्च भएको छ । भत्ताका बारेमा जानकारी लिँदा नगरका सूचना अधिकारी सागर अर्यालले कार्यविधि अनुसार नै भत्ता बाँडिएको बताए । ६ महिनामा १० प्रतिशत पनि पूँजिगत बजेट खर्च गर्न नसकेको नगरले तलब, भत्ता, इन्धनजस्ता शीर्षकमा भने प्रक्षेपित बजेटभन्दा पनि धेरै खर्च गरिसकेको छ ।
कर्मचारी प्रोत्साहन भन्दा बाहेकपनि नगरले विभिन्न शीर्षकमा जनप्रतिनिधि र कर्मचारीलाई भत्ता बाँडेको छ । नगरपालिकाले महंगी भत्ताको नाममा १ लाख २८ हजार बाँडेको छ भने कर्मचारीको बैठक भत्ता भन्दै ३ लाख ५७ हजार खर्च गरेको छ । त्यस्तै, अन्य भत्ताका नाममा जनप्रतिनिधिहरुलाई ११ लाख ४ हजार, पदाधिकारी बैठकभत्ताका नाममा ६ लाख ८५ हजार खर्च गरिसकेको छ ।
इन्धन खर्चमात्रै ४३ लाख, मर्मतमा झण्डै १७ लाख
तारकेश्वर नगरपालिकाले पछिल्लो ६ महिनामा जनप्रतिनिधिलाई इन्धन खर्चबापत १९ लाख ५४ हजार खर्च गरेको छ भने कार्यालय प्रयोजनका लागि २३ लाख ६० हजारको इन्धन खरिद गरेको छ । नगरपालिकाको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा नगरपालिकाले सवारी साधन मर्मतका लागि १६ लाख ७२ हजार खर्च गरेको छ । नगरपालिकाका अधिकारीले कर्मचारी र जनप्रतिनिधिलाई दिएको भत्ता कार्यविधि र मापदण्ड अनुरुप नै भनेता पनि नगरपालिकाको बजेट, राजश्व र कर्मचारीको अनुपातमा नगरपालिकाले आफ्नो औकातभन्दा धेरै नै खर्च गरेको प्रष्ट हुन्छ ।