शिवरात्रिमा रमिताः लोकतान्त्रिक चोकमा काँग्रेस र कम्युनिष्टको छुट्टाछुट्टै पूजा

तारकेश्वर, ७ फागुन । आममानिसहरुलाई अनावश्यक रुपमा विभाजित गराएर जनस्तरमा एकआपसमा घृणा पैदा गराउने र आफुहरुले राज गरिरहने राजनीतिक अभ्याँस नेपालमा तीव्र छ ।
तारकेश्वर नगरपालिकाको वडा नं १० स्थित लोकतान्त्रिक चोकमा महाशिवरात्रिको दिन एउटा यस्तै जनता फुटाउने रोचक परिदृश्य देखियो । चोकमा रहेको लोकतान्त्रिक पार्कमा अवस्थित मन्दिरमा दुइवटा शिवरात्रि पूजन र प्रसाद ग्रहण कार्यक्रम आयोजना गरियो । जसमा एकातिर काँग्रेस समर्थितले र अर्कोतिर कम्युनिष्टहरुले कार्यक्रमको आयोजना गरे ।
उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति र मन्दिर व्यवस्थापनमा समेत राजनीतिक भागवण्डा गर्ने विकृत अभ्याँस रहेको देशमा यो घटना सामान्य लागेपनि धार्मिक आस्थाको विषयलाई राजनीतिककरण गरिएकोमा भने स्थानीयले दृःख व्यक्त गरेका छन् ।
यसअघि चोकको मूल शिवमन्दिरमा मात्र हुने गरेको शिवरात्रि पूजा कार्यक्रम यसपाली सँगैको मनकामना मन्दिरमा पनि गरिएको छ । पूजा कार्यक्रम दुईतिर हुनुको पछाडी भने राजनीतिक पक्षधरता मूल कारक रहेको पाइएको छ ।
गत स्थानीय निर्वाचनमा काँग्रेस पार्टीबाट वडाध्यक्षमा निर्वाचित कुमार राईले मन्दिर व्यवस्थापनको नयाँ उपभोक्ता समिति बनाइदिएपछि सो समितिले पार्कको मनकामना मन्दिर प्रांगणमा शिवपूजन र प्रसाद कार्यक्रम राखेको थियो । मूल शिवमन्दिरमा भने यसअघिको मन्दिर व्यवस्थापन समितिले कार्यक्रमको आयोजना गरेको छ । जसमा अधिकतर एमाले, माओवादी समर्थित रहेका छन् । जसको नेतृत्व स्थानीयरुपमा कृयाशिल मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष होमबहादुर बोगटील गरे । दुईतिर कार्यक्रम भएको विषयमा सोध्दा उनले मूल मन्दिरमा नियमित कार्यक्रम हुने भएकाले अर्कोतिर किन कार्यक्रम आयोजना गरिएको थाहा नभएको प्रतिक्रिया दिए ।
मनकामना मन्दिरमा शिवरात्रि पूजन कार्यक्रम गराउन नेतृत्व गर्ने वडाध्यक्ष राइको भने मन्दिरसँग फरक नाता रहेछ । राईका बुबाले मन्दिर निर्माण र बरपिपल रोपणमा गरेको योगदान स्मरण गर्दै नयाँ समितिले मनकामना मन्दिर प्रांगणमा कार्यक्रम आयोजना गरेका एकजना स्थानीयले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।
शिवपूजन कार्यक्रम सहभागि भएका वडाध्यक्ष राईले हाल मनकामना मन्दिर रहेका ठाउँमा राखिएको शिवलिंग देखाउँदै पूरानो शिवशिला भएको स्थानमै आफुहरुले पूजा गरेको दावी गरे ।
मूल शिवमन्दिरमा पूजा आयोजना गरेको पुरानो समितिका एमाले र माओवादी समर्थित अधिकारीहरुले भने राजनीतिक फरकमतका आधारमा मनकामना मन्दिरमा शिवधुनी लगाइएको वडाध्यक्षप्रति भन्दै आक्रोश पोखे । उनीहरुले मन्दिर र पार्क व्यवस्थापनका लागि पुरानो समिति हुँदाहुँदै नयाँ समिति बनाइनुलाई कार्यकर्ता पोस्ने षडयन्त्र भएको आरोप लगाए ।