टोखाको नगरभवन दुईपटक म्याद थप गर्दापनि निर्माण सकिएन, नगरलाई व्ययभार थपिँदै

काठमाडौं, १८ फागुन । टोखा नगरपालिकाले २ वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेको नगरपालिकाको ५ तले अत्याधुनिक भवन निर्माण तीन वर्ष नाघ्दासमेत सम्पन्न नभएपछि दोश्रोपटक पनि म्याद थप गरिएको छ ।

नगरपालिकाले कोभिड महामारी र नक्सा परिवर्तन भएको कारण देखाउँदै अघिल्लोवर्ष एकवर्ष म्याद थप गरेपनि सो अवधिमा पनि निर्माण सम्पन्न हुन नसकेको हो । टोखा नगरपालिकाले गौरा श्रृंखला जेभीसँग २०७६ माघ २२ गते नगरपालिकाको भवन बनाउन ११ करोड ९ लाख ८८ हजारमा ठेक्का सम्झौता गरेको थियो । तर, दुईवर्षमा निर्माण सम्पन्न भएन । दुई वर्षमा निर्माण नसकिएपनि ठेक्का अवधिको दोश्रो वर्ष ठेकेदार कम्पनीले मुल्यवृद्धि अनुसारको मुल्य समायोजन गराएर थप ५४ लाख १९ हजार भुक्तानी लियो ।

२०७८ माघ २१ गतेभित्र निर्माण सम्पन्न नहुनुलाई नगरपालिकाले कोभिड महामारी र भवनको नक्सामा भएको परिवर्तन कारण देखाएको छ । नगरका सूचना अधिकारी अनिल जोशीका अनुसार एकवर्षलाई म्याद थप गरेपनि गत माघ २१ गतेभित्र निर्माण सम्पन्न नभएकाले पुनः २०८० जेठ ३० गतेसम्मका लागि दोश्रोपटक म्याद थप गरिएको छ ।

भवनको निर्माण सम्पन्न नभइसकेपनि ठेकेदार कम्पनीले भने सुरुवाती ठेक्का रकमभन्दा बढि भुक्तानी लिइसक्यो । ११ करोड ९ लाखमा सुरुवाती सम्झौता भएपनि ठेकेदार कम्पनीले हालसम्म भेरियसन अर्डन र मुल्य समायोजन भन्दै अतिरिक्त अढाइ करोड भुक्तानी लिइसक्यो । ठेकेदार कम्पनीले क्वान्टिटी भेरियसन अर्डन ( क्वान्टिटी भिओ) को शीर्षकमा हालसम्म अतिरिक्त १ करोड ४८ लाख, ९६ हजार र आइटम भेरियसन अर्डन (आइटम भिओ) अन्तर्गत १ करोड २५ लाख भुक्तानी लिइसकेको छ । जेठसम्म सक्ने पछिल्लो म्याद भएपनि जेठ मसान्तसम्म भवनको निर्माण सम्पन्न हुनेमा स्वयं टोखा नगरकै अधिकारीहरु विश्वस्त देखिँदैनन् ।

सुरुवाती सम्झौता अवधिमा भवनको निर्माण सम्पन्न नहुँदा नगरपालिकालाई हालसम्मको हिसावमा करिब १० प्रतिशत थप आर्थिक व्यभार परेको छ । निर्माण सम्पन्न नहुँदासम्म भिओ मार्फत थप खर्च हुनसक्ने सम्भावना पनि जीवितै छ । स्थानीय सरकारहरुले पहिलो कार्यकाल सकिएर दोश्रो कार्यकालको १ वर्ष पूरा हुँदासमेत कार्यालय भवन निर्माण गर्न नसक्नुले एकातिर स्थानीय सरकारहरुको चुस्ततामा प्रश्न सिर्जना गरेको छ भने अर्कोतिर सरकारी लागत निरन्तर बढ्दा राज्यलाई आर्थिकभार थपिने देखिन्छ ।