समाचार प्रभावः सांग्ला प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु हुनेभयो डायलासिस, मदनकृष्णले गरे समन्वय
फागुन २५ गते । डेढ करोडमा किनिएका डायलासिस मेशिन सञ्चालन हुननसकेको भन्ने समाचार १२ फागुनमा तारकेश्वर अनलाईनमा प्रकाशित भएसँगै जुर्मराएको तारकेश्वर नगरपालिकाले मानव अंग प्रत्यारोपण केन्द्रसँग समन्वय गरेर ६ वटा मध्ये २ वटा डायलासिस मेशिन तत्काल सञ्चालनमा ल्याउने भएको छ ।
नेपाल सरकार अन्तर्गतको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सुपरिवेक्षणमा डायलासिस मेशिन सञ्चालन गर्ने बन्दोबस्त गरिएको हो । प्रसिद्ध हास्यकलाकार एवं तारकेश्वर नगरका स्थायी बासिन्दा मदनकृष्ण श्रेष्ठको अग्रसरतामा मानव अंग प्रत्यरोपण केन्द्रको विशेषज्ञ समुहले हालैमात्र सांग्लास्थित प्राथमिक स्वास्थ्य केन्द्रको निरीक्षण गरि तत्काललाई २ वटा मेशिन चलाउन सहयोग गर्ने र तारकेश्वर नगरपालिकाले खटाएका स्वास्थ्यकर्मीलाई तालिम दिन सहमति जनाएको छ । यद्यपी यस सम्बन्धमा कुनै आधिकारिक सम्झौता भने भइसकेको छैन ।
डायलासिस सञ्चालन गर्नका लागि दुईजना चिकित्सक र दुईजना नर्सलाई नगरपालिकाको स्वास्थ्य शाखाले मानव अंग प्रत्यारोपणमा तालिमका लागि पठाएको स्वास्थ्य शाखाका प्रमुख विनोद साहले तारकेश्वर अनलाईनलाई जानकारी दिए । उनका अनुसार जनशक्तिले भक्तपुरमा १० दिन तालिम लिनेछन् ।
यहि फागुन २५ गते विश्व मिर्गौला दिवसको अवसर पारेर केन्द्रमा डायलासिस सेवा सुरु हुन लागेको हो । सुरुमा २ वटाबाट सञ्चालन आरम्भ गर्ने र विस्तारै सबै मेशिन चलाउने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ ।