तारकेश्वरका नगरप्रमुख कृष्णहरि महर्जनले ऋण नतिरेपछि नेपाल बैंकले धितो लिलाम गर्ने

तारकेश्वर, ५ साउन । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले बैंकको कर्जा नतिरेपछि बैंकले जग्गा लिलाम सम्बन्धी ३५ दिने सूचना निकालेको छ ।

नेपाल बैंकले शुक्रवार एक सूचना निकालेर प्रमुख महर्जनले सुमार्ग हार्डवेयर एण्ड सप्लायर्स र सुमार्ग पोली इन्डष्ट्रिजको नाममा नेपाल बैंकको बालाजु औधोगिक क्षेत्र शाखाबाट लिएको कर्जा नतिरेकाले धितो लिलामीको प्रकृया थालनी गरेको बताएको छ । सूचनामा उल्लेख भए अनुसार बारम्बार ताकेता गर्दापनि महर्जन र उनका दुईजना साझेदारले कर्जा चुक्ता नगरेपछि बैंकले सूचना निकालेको हो ।

महर्जनको धनजमानीमा उनका बुबा रामकृष्ण महर्जन र श्रीमति स्मृति महर्जनको नाम उल्लेख छ । बैंकका अनुसार धितोमा राखिएको ऋणिको जग्गा लिलाम प्रकृया भदौ ६ गतेबाट सुरु हुनेभएको छ । आफ्नो महिनाको २५ लाख आम्दानी रहेको भन्दै सुशासन र इमानदारिता आफ्नो मुख्य उद्देश्य र चरित्र भएको दावी गर्ने प्रमुख महर्जनले बैंकको कर्जा नतिरेको विषय सार्वजनिक भएपछि कतिपयले उनको चरित्रमाथि प्रश्न उठाउन थालेका छन् ।