गिरीबन्धु टि-स्टेट काण्डका बारेमा ओलीको जवाफः छानवीन गर, आफै जेल जाऊ
काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टिस्टेटको जग्गाका विषयमा जवाफ दिएका छन् ।
सोमवार राजधानीमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कार्यक्रममा बोल्दै ओलीले गिरिबन्धु टिस्टेटको नाममा रहेको जग्गा पटक पटक गैरकानुनी रुपमा बेचबिखन गरिएको र त्यसलाई रोक्न र व्यवस्थित बनाउन आफुले कानुन बनाएको दावी गरेका छन् ।
उनले भनेका छन्, ‘बिना छानबिन, विना कानुन ०५३ सालमा १९ विघा जमिन बेच्न दिइएको थियो कमिसन खाएर, त्यसको छानबिन गर । ०६० कि कति सालमा बिना कानुन ५१ बिघा जमिन बेच्न दिइएको थियो, कमिसन खाएर । छानबिन गर जेल जाऊ ।’
ओलीले यति होल्डिंग्स, वाइडबडी र गिरिबन्धु सबैको छानवीन गर्न सरकारलाई चुनौति दिएका छन् । ओलीलाई केही समयदेखि गिरिबन्धु टिस्टेटमा माफियालाई जग्गा बेच्न सहजिकरण गरेको आरोप लागिरहेका बेला उनले त्यसको खण्डन गरेका हुन् । ओलीले काण्डहरुको छानवीन गरे छानवीन गर्ने सरकारका अधिकारीहरु नै जेल जाने दावी पनि गरेका छन् ।
११ भाद्र २०८०, सोमबार