बागमती सरकारले दुग्धजन्य पशुपालक र कृषक सहकारीलाई गरि २ करोड ७५ लाख अनुदान बाँड्ने
काठमाडौं, ११ भदौ । बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी बिकास मन्त्रालयले कृषक सहकारी र दुग्धजन्य कृषकलाई लक्षित गरि २ करोड ७५ लाख अनुदान रकम बाँड्ने भएको छ ।
मन्त्रालय अन्तर्गतको प्रदेश दुग्ध विकास बोर्डले एक सूचना जारी गरि २१ दिनभित्र इच्छुक कृषक र सहकारीले आवेदन दिन समय दिएको छ । मन्त्रालयले साइलेज प्रोत्साहन तथा प्रवद्र्धन कार्यक्रमका लागि २ करोड बजेट राखेको छ । जसमा आफ्नै पशुपालन र दुग्ध उत्पादन भएको सहकारी, कृषक समुह वा निजी फर्मले पनि आवेदन दिनसक्नेछन् ।
त्यस्तै ग्रामिण क्षेत्रको कृषक सहकारीका लागि मिल्क कलेक्शन बैंक स्थापना गर्नका लागि ७५ लाख बजेट छुट्याएको छ । मन्त्रालयले २५ वटा मिल्क बैंक स्थापनामा अनुदान दिने लक्ष्य लिएको छ ।
प्रदेश सरकारको यी अनुदान कार्यक्रम साइलेज प्रोत्साहन तथा प्रवद्र्धन कार्यक्रम कार्यविधि (प्रथम संशोधन २०७९) र दूध संकलन बैंक स्थापना कार्यक्रम सम्बन्धि कार्यविधि (प्रथम संशोधन २०७९) अनुसार गरिने मन्त्रालयले जनाएको छ । सो कार्यक्रमका लागि जिल्लास्थित भेटेरनरी अस्पताल, पशु विज्ञ सेवा केन्द्र वा प्रदेश दुग्ध विकास बोर्डमा आवेदन दिन किसान, समुह, संस्था वा सहकारीलाई अपिल गरिएको छ ।
११ भाद्र २०८०, सोमबार