प्रकृया नमिलेको भन्दै तारकेश्वरद्वारा दोश्रोपटक ढुंगागिट्टीको बिक्रिशुल्क उठाउन बोलपत्र आह्वान
तारकेश्वर, १४ भदौ । तारकेश्वर नगरपालिकाले नगरपालिकाभित्र रहेका स्रोतबाट नगरपालिकाको शर्त बमोजिम उत्पादन, पैठारी र निर्यात हुने प्राकृतिक स्रोत साधनको बिक्रि शुल्क असुल गर्न पहिलोपटक खोलेको ठेक्कामा कसैको पनि प्रकृया नमिलेको भन्दै दोश्रोपटक बोलपत्र आह्वान गरेको छ ।
नगरपालिकाले यसअघि एकमहिना म्याद दिएर मागेको बोलपत्रमा कसैको पनि प्रकृया नमिलेको भन्दै १५ दिनको म्याद सहित नयाँ नयाँ बोलपत्र आह्वान गरेको हो । ‘यसअघिको सूचना अनुसार इबिडिंग गर्नेहरु कसैको प्रकृया नमिलेको भएर दोश्रोपटक बोलपत्र आह्वान गरिएको हो ।’ नगरका सूचना अधिकारी सागर अर्यालले तारकेश्वर अनलाईनसँग भने ।
नगरपालिकाले प्राकृतिक स्रोत निकासी र पैठारी गर्नेबाट एकवर्षमा न्यूनतम २ करोड ८३ लाख आम्दानी गर्ने लक्ष्यसहित बोलपत्र आह्वान गरेको हो । अघिल्लो वर्ष नगरपालिकाले २ करोड ७१ लाख न्यूनतम मूल्य तोकेर ठेक्का आह्वान गरेकोमा रेडियन्ट बिल्डर्सको २ करोड ७६ लाखको बोलपत्र स्वीकृत भएको थियो ।
यसवर्ष भने नगरपालिकाले जिल्ला समन्वय समितिको सिफारिस अनुसार वातावरणीय प्रभाव मूल्यांकन गरेर न्यूनतम मूल्यमा १० प्रतिशत बढाएको हो । तारकेश्वर भित्रका खोलानाला र जमिनमा रहेको प्राकृतिक स्रोत ढुंगा, गिट्टी र बालुवाको अवैध निकासी भइरहेको गुनासो हुँदापनि मौन बसेको नगरपालिकाले प्राकृतिक स्रोत निकासी पैठारीमा बिक्रि शुल्क उठाउन बोलपत्र आह्वान गरेको हो ।
१४ भाद्र २०८०, बिहीबार