सहकारीमा देखिएका समस्याका बारेमा आवाज उठाउँछुः प्रदीप पौडेल

तारकेश्वर, १६ भदौ । सांसद एवं काँग्रेसका युवा नेता प्रदीप पौडेलले सहकारी क्षेत्रमा भएका समस्याहरुलाई गम्भीर रुपमा छलफल गर्नुपर्ने बताएका छन् ।
टोखा नगरपालिका वडा नं ९ मा रहेको द्रव्य बहुउदेश्यीय सहकारीको १७ औं वार्षिकोत्सव समारोहको उद्घाटन गर्न आइपुगेका सांसद पौडेलले सहकारी क्षेत्रमा रहेका समस्या समाधानका लागि संसदबाट आवाज उठाउने प्रतिवद्धता जनाएका छन् ।

सहकारीले बिजी बैंक्वेटमा आयोजना गरेको आफ्नो १७ औं वार्षिक साधारण सभामा वार्षिक नीति तथा कार्यक्रम मार्फत योजनाहरु पनि सार्वजनिक गरेको छ । सहकारीले उत्पादनमुलक उद्यममा युवा शेयरधनीहरुलाई जोड्न सुलभ दरको युवा उद्यम कर्जा प्रवाह गर्ने योजना बनाएको छ । त्यस्तै, शेयरधनीहरुलाई स्वास्थ्य उपचारको व्यवस्थाका लागि आर्थिक सहयोग गर्ने सम्बन्धी कार्यविधि बनाउने लगायतका बुँदा नीति तथा कार्यक्रममा समेटिएको छ । त्यस्तै, सहकारीले आफ्नो पुँजी बढाएर डेढ करोड पुर्याएने लक्ष्य पनि लिएको छ ।

सहकारीको साधारण सभा कार्यक्रममा सहकारीका शेयरधनीहरुका साथै टोखा नगरपालिकाका उपप्रमुख मुरारी तामांग, वडा नं ९ का अध्यक्ष रामभक्त घिमिरे, कामनपा २६ का अध्यक्ष खेम तिवारी लगायत वित्तीय क्षेत्रमा क्रियाशिल मानिस सहभागी भएका थिए ।

१६ भाद्र २०८०, शनिबार