बीपीको जन्म जयन्तीः देउवा भन्छन्, हामी बीपीकै पथमा छौं

काठमाडौं, २४ भदौ । नेपाली काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको आज १ सय १० औं जन्मजयन्ति आज विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।
बीपी कोइरालाको जन्म जयन्तिको अवसरमा नेपाली काँग्रेसले पार्टी कार्यालय सानेपामा औपचारिक कार्यक्रमका साथै बीपी साहित्य महोत्सवको आयोजना गरेको छ । महोत्सवको उद्घाटनसत्रमा बोल्दै काँग्रेस सभापति शेर बहादुर देउवाले बीपीलाई स्मरण गरे । बीपीको विचारमा आफुहरु हिडिरहेको देउवाको दावी छ ।
नेपाली काँग्रेसले बीपीको पथ छाडेको भनेर आलोचना भइरहेका बेला देउवाले आफुहरु बीपीकै पथमा रहेको जिकिर गरेका हुन् । प्रजातन्त्र र समाजवाद बीपीको सपना भएको र देश समाजवाद तर्फ उन्मुख भएको देउवाको भनाइ छ ।
बीपीको जन्मजयन्तीको अवसर पारेर विभिन्न संस्थाहरुले बीपीलाई स्मरण गरेका छन् । बीपीले भनेझैं संवैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्रको असल पक्षपाती आफुहरु भएको दावी गर्दै आएको राप्रपाले पनि बीपी जयन्तीको अवसरमा अन्तरक्रिया कार्यक्रम राखेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिंग्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, अधिवक्ता भीमार्जुन आचार्य लगायत सहभागी कार्यक्रममा बीपीको विचार र मेलमिलाप नीतिको बारेमा छलफल भएको छ ।
बीपीको सम्झनामा अन्य विभिन्न संघसंस्थाले पनि आज कार्यक्रमहरुको आयोजना गरेका छन् ।