एमाले उपाध्यक्ष नेम्वाङको निधन

काठमाडौं, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ ।

राति १ बजेतिर अचानक हृदयघात भएपछि अस्पताल पुर्याइएका उपाध्यक्ष नेम्वाङ्को मृत्यु भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका चिकित्सकले घोषणा गरेका हुन् । नेम्वाङको मृत्यु भएसँगै एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत नेताहरु शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन् ।

पहिलो र दोश्रो संविधानसभाको अध्यक्ष रहेका नेम्वाङलाई शालिन र भद्र नेताका रुपमा हेर्ने गरिएको थियो । एमाले संसदीय दलका उपनेता समेत रहेका नेम्वाङ २०५६ सालदेखि लगातार इलामबाट संसदीय निर्वाचनमा विजयी हुँदै आएका थिए । २०५६ साल अघि दुईपटक राष्ट्रिय सभाका सदस्य मनोनित भएका नेम्वाङले २०२९ सालमा इलाम क्याम्पस अध्ययन गर्ने क्रममै कम्युनिष्ट पार्टीको सदस्य लिएर राजनीतिमा होमिएका थिए । सर्वप्रथम मनमोहन अधिकारीको अल्पमतको सरकारका कानूनमन्त्री बनेका नम्वाङ २०५६ सालपछि लेखा समितिको सभापति पनि बनेका थिए ।

संविधान सभाको दुवै कार्यकालमा संविधान सभाको अध्यक्ष बनेका नेम्वाङलाई कतिपयले चोरबाटोबाट नेपालमा धर्म निरपेक्षता छिराएको भनेर आलोचना पनि गर्ने गरेका छन् । नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि बुधवारसम्म नेकपा एमालेको कार्यालय च्यासलमा राखिने भएको छ । उनको शवलाई त्रिवि शिक्षण अस्पतालबाट एमाले केन्द्रीय कार्यालयमा लैजाने तयारी भइरहेको निकटस्थ नेताहरुले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

२६ भाद्र २०८०, मंगलवार