उपत्यकामा तालिम, सेमिनार, बैठक तथा कार्यक्रम गर्न नपाइने
काठमाण्डौ ,साउन २०।
काठमाडौँ उपत्यकामा तालिम, सेमिनार, कार्यक्रम , बैठक तथा गोष्ठी भर्चुअल माध्यमबाट मात्रै सञ्चालन गर्नका लागि प्रशासनले आदेश जारी गरेको छ ।कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले २०७८ साउन २१ देखि २७ गतेसम्म थपिएको निषेधाज्ञामा प्रत्यक्ष सहभागी भएर गरिने यस्ता कार्यक्रममा रोक लगाइएको हो ।यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो ।
मापदण्ड उल्लङ्घन हुँदा जोखिम बढ्न थालेको उपत्यका प्रशासनको निष्कर्ष छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित साउन १९ गतेको बैठकले उक्त आदेश जारी गरेको हो ।आदेशमा कोभिड–१९ को लक्षण देखिएका तथा सङ्क्रमितको सम्पर्कमा रहेका व्यक्तिलाई नेपाल सरकारले निःशुल्क व्यवस्था गरेको एन्टिजेन तथा पिसिआर परीक्षणका लागि सम्बन्धित स्थानीय तह, जिल्ला अस्पतालसँग सम्पर्क गरी परीक्षण गराउन र भीडभाडबाट बच्न पनि अनुरोध गरिएको छ ।



