आज गाईजात्रा पर्व मनाईदै
काठमाडौ भदौ ७ काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा धुमधामका साथ सापारु पर्व मनाइन्छ । नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा सापारु व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित छ । सापारुमा नेवाः समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन । यस दिन भजन कीर्तन पनि गरिन्छ ।
सापारु नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको सापारु पर्व नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ काठमाडौंका नेवा: समुदायले बसन्तपुर परिक्रमा गर्ने गरिन्छ ।यो दिनमा बसन्तपुर ठुलो घुइँचो लाग्ने गर्दछ।ऐतिहासिक किवदन्ती अनुसार मध्ययुगकालिन राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलनको सुरु गरेका थिए ।
राजा प्रताप मल्लले आफ्नो पुत्रशोकले विह्वल भएकि रानीको मन शान्त पार्ने उद्देश्यले दुनियाँले आफ्नो जस्तै शोक बेहोर्नुपरेको यथार्थ देखाउन गाईजात्रा निकाली सहर परिक्रमा गर्न लगाएका थिए।गाईको भेषमा हरेक मृतकका आफन्तहरू घर–घरबाट निस्किएर जात्रामा सहभागी बनेको देखेपछि रानीको शोकले बिभोर भएको मन कोमल भएको उक्ति पाइन्छ । तर यतिले मात्र रानीको मन शान्त नभएपछि विभिन्न हास्य प्रहसन र व्यंग्यवाणसमेत प्रस्तुत गरी उनलाई हँसाउन सफल भएकाले राजाको आदेशबमोजिम त्यसैबेलादेखि हरेक वर्ष गाईजात्रा मनाउने पर्वको शुरुवात भएको किंवदन्ती पाइन्छ।



