कुकुरलाई ढुंगा हान्दा तारकेश्वरमा एकजनाको ज्यान गयो

तारकेश्वर, ३ साउन । तारकेश्वरमा शुक्रवार राति एकजना युवाको हत्या भएको छ । तानपा वडा नं ५ स्थित गोलढुंगामा करिब मध्यरात १२ः३० बजेतिर एक युवाको हत्या भएको हो । रसुवा स्थायी घर भई कपुरधारा बस्दै आएका २४ वर्षे खिरिङ तामाङको स्थानीयले चोरी गर्न आएको व्यक्ति ठानेर कुटपिट गरेपछि मृत्यु भएको हो ।
साथीको घरमा पाहुना लाग्न गएका खिरिङ तामाङले स्थानीय कृष्ण श्रेष्ठको कुकुरलाई ढुंगाले हानेको निउँमा स्थानीयहरु ढुंगाले हानेको बताइएको छ ।
पछि उनीहरु भागेपछि चोर, चोर भन्दै कराएपछि सर्वसाधारणले उनलाई ढुंगा हानेको पाइएको प्रहरीले जनाएको छ । बालाजुका डीएसपी रंजितसिंह राठौरले बताएअनुसार उनको टाउकोमा चोट लागेको छ।
गोलढुंगाका स्थानीय बासीलाई बालाजु प्रहरिले समातेर अनुसन्धानका लागि प्रहरि कार्यालय बालाजु वृतमा राखेको छ ।
गाउँलेहरुले चोरको आशंकामा कुटपिट गर्न थालेपछि मारेको बुझिएको छ । घटनामा मृतकको एक जना साथीपनि घाइते भएका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार मध्यराति दुईजना मादक पदार्थ सेवन गरेर गएपछि एक घरको कुकुर भुकेको थियो । त्यसक्रममा उनीहरुले पनि हल्ला गर्न थालेपछि टोलका व्यक्ति पनि बाहिर निस्किएका थिए । र, विवाद बढ्दै जाँदा उनीहरुमाथि स्थानीयले आक्रमण गरेका हुन् ।
३ श्रावण २०७७, शनिबार