राप्रपा तारकेश्वरले नगरपालिकालाई बुझायो ज्ञापनपत्र, माग पुरा नभए आन्दोलन गर्ने

तारकेश्वर, २२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तारकेश्वर नगरकमिटिले तारकेश्वर नगरपालिका प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै माग पुरा नभए आन्दोलनमा जाने चेतावनी दिएको छ ।
सोमबार राप्रपा काठमाडौं जिल्ला समितिको निर्णय बमोजिम नगर प्रमुखलाई ज्ञापनपत्र बुझाउन गएको राप्रपा तारकेश्वरले सुशासन, महंगी विरुद्ध तथा भ्रष्टाचार नियन्त्रणका विषयमा नगरपालिकाको ध्यानाकर्षण गराएको हो ।
राप्रपा तारकेश्वर नगरसमितिका अध्यक्ष बसन्त कुमार बस्नेतको नेतृत्वमा ज्ञापन पत्र बुझाउन गएको टोलीमा राप्रपा केन्द्रीय सदस्य चिरागमान सिंह कुवँर, उद्धवराज भेटुवाल लगायत विभिन्न तहका नेताकार्यकर्ता सहभागी थिए ।
तारकेश्वर नगरपालिकाका अध्यक्ष कृष्णहरि महर्जनलाई ज्ञापन पत्र बुझाउँदै राप्रपा तारकेश्वरले उर्लँदो महंगी नियन्त्रण गर्न माग गरेको छ । त्यस्तै कालोबजारी नियन्त्रण गर्न, भ्रष्टाचार अन्त्य गर्न तथा बजार अनुगमन प्रभावकारी बनाउन माग गरेको छ ।
त्यस्तै, नगरपालिकाबाट सञ्चालित योजनाहरुलाई पारदर्शी बनाउन पनि राप्रपाले माग गरेको छ । ज्ञापनपत्र बुझाएपछि बोल्दै राप्रपा तारकेश्वर नगरकमिटिका अध्यक्ष बसन्त कुमार बस्नेतले जनतालाई सुशासनको प्रत्याभूति दिन नगरअध्यक्ष महर्जनसमक्ष माग राखे । त्यस्तै नगर अध्यक्ष महर्जनले चुनावका बेलामा जनतामाझ गरेको वाचा कार्यान्वयन गर्नपनि राप्रपाले ज्ञापनपत्रमार्फत दवाव दिएको छ ।
गाउँगाउँमा सिंहदरवार भन्ने नारा जनताले महशुष गर्न नसकेको भन्दै राप्रपाले आफ्ना माग पुरा नगरे आन्दोलनमा जाने चेतावनी पनि दिएको छ । नगरपालिकासमक्ष माग गरिएका विषय कार्यान्वयन नभएमा आन्दोलनमा जाने राप्रपा तारकेश्वर नगर कमिटिका अध्यक्ष बस्नेतले बताए ।
सो क्रममा राप्रपा नेताकार्यकर्ता समक्ष तारकेश्वर नगरका अध्यक्ष कृष्णहरि महर्जनले राप्रपाले अघि सारेका माग जनताकै माग भएकाले आफुले पुरा गर्न प्रयास गरिरहेको र सुधारका काम गर्न थप हौसला र साथ मिलेको बताए । नगर अध्यक्ष महर्जनले आफ्नो नगरमा सार्वजनिक शिक्षा, स्वास्थ्य र खानेपानीजस्ता संवेदनशील विषयमा उल्लेखीय कार्य भएको दावी गर्दै सबै दल र जनताका साथमा आफुले थप सुधारका कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
२२ आश्विन २०८०, सोमबार