तारकेश्वर-२ ले एक महिनामा संकलन गर्यो सवा १० लाख कर

तारकेश्वर, ४ भदौ । तारकेश्वर नगरपालिका वडा नं २ ले साउन महिनामा सवा दशलाख कर संकलन गरेको छ । कोभिढ १९ को महामारीका बीचपनि वडा कार्यालयले सन्तोषप्रद कर उठाउन सफल भएको वडा कार्यालयले जनाएको छ । वडाले साउन महिनाभरमा १० लाख २६ हजार ३ सय ७५ रुपैयाँ कर उठाएको हो ।

वडाले सबैभन्दा धेरै जग्गा किनबेच लगायतका सिफारिस कर उठाएको छ । वडाले सिफारिस कर अन्तर्गत ६ लाख ४३ हजार ५ सय ४४ रुपैयाँ कर उठाएको छ । त्यसबाहेक वडाले सम्पति करबाट २ लाख ६४ हजार ९ सय ५५ रुपैयाँ संकलन गरेको छ । वडाले भूमिकर मालपोतकर ४३ हजार १ सय ५१, बहाल विटौरी कर २९ हजार २ सय ९५, व्यक्तिगत घटना दस्तुर कर अन्तर्गत वडाले ७ सय १० रुपैयाँ संकलन गरेको वडाध्यक्ष रवीन्द्र केसीले तारकेश्वर अनलाईनलाई जानकारी दिए । अन्य दस्तुरहरुबाट वडाले एकमहिनाको अवधिमा ४४ हजार ७ सय २० रुपैयाँ संकलन गरेको छ ।

वडाले कोभिड संक्रमणका बीच अघिल्लो महिना कर संकलन भएपनि अबका दिनमा भने यसमा असर गर्नसक्ने बताए । यद्यपी वडा कार्यालयले चालु आवमा १ करोडभन्दा धेरै कर उठाउने आंकलन गरेको छ ।

अघिल्लो वर्ष वडा नं २ ले ८८ लाख कर उठाएको थियो । लकडाउनका कारण चैतयता कर संकलन घट्दा आव २०७५/७६ को तुलनामा ७६/७७ मा कर संकलनको आंकडा खस्किएको थियो । २०७५/७६ मा ९३ लाख कर उठाएको वडा नं २ ले अघिल्लो आर्थिक वर्षमा ८८ लाखमा मात्र सीमित भएको हो । वडाध्यक्ष केसीले कोभिड महामारीको समस्याबाट बाहिर आउन सके कर संकलनमा सुधार आउने बताए ।

अघिल्लो वर्षको आंकडा अनुसार तारकेश्वर नगरभित्र सबैभन्दा धेरै वडा नं १० ले र सबैभन्दा कम वडा नं १ ले कर संकलन गरेका छन् । वडा नं १० मनमैजुले झण्डै डेढ करोड कर उठाउँदै गर्दा वडा नं १ ले भने जम्मा करिब ५६ लाखमात्र कर संकलन गरेको थियो ।

४ भाद्र २०७७, बिहीबार