मनमैजु सांस्कृतिक समाजको ‘मन्थन’: शनिवारको श्रृंखला योग र प्राकृतिक चिकित्सामा केन्द्रित

तारकेश्वर, ५ भदौ । प्रत्येक महिना समसामयिक र सामाजिक विषयमा ‘मन्थन’ चलाउँदै आएको मनमैजु सांस्कृतिक समाजले यस श्रृंखलामा रोग प्रतिरोधी क्षमता वृद्धि सम्बन्धी छलफल आयोजना गर्ने भएको छ ।

प्रत्येक महिनाको पहिलो शनिवार सञ्चालन हुने ‘मन्थन’ श्रृंखलाको यो अंकमा योग गुरु एवं प्राकृतिक चिकित्सक कञ्चन घिमिरेको प्रवचन र छलफल सञ्चालन हुने भएको छ ।

भदौ ६ गते (शनिवार) अपरान्ह ३ बजेदेखि इन्टरनेट एप्लिकेशन जुममा भर्चुअल गोष्ठि हुने भएको हो । कोभिड १९ को महामारीका कारण सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था भएकाले अनलाईन कार्यक्रम राखिएको मनमैजु सांस्कृतिक समाज, सञ्चार विभागका प्रमुख श्रीराम केसीले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

मनमैजु सांस्कृतिक समाजले यसअघिको श्रृंखलामा अर्थबिद प्राडा केशवराज खड्कालाई मन्थनमा निम्त्याएको थियो । यो महिनाका लागि तय भएका वक्ता कञ्चन घिमिरेले मूलतः कोभिड १९ को बढ्दो संक्रमणका बीच आफ्नो रोग प्रतिरोधी क्षमता कसरी अभिवृद्धि गर्ने भन्नेमा प्रवचन दिने आयोजकले जनाएको छ ।

योग तथा प्राकृतिक चिकित्साका सामान्य विधिहरुले समेत मानिसको रोग प्रतिरोधी क्षमतामा सुधार आउने विभिन्न अध्ययनहरुले पुष्टि गरिसकेको अवस्थामा आसन्न मन्थनको श्रृंखला आरोग्य जीवन चाहानेहरुलाई सहायक सिद्ध हुने अपेक्षा गरिएको छ ।

५ भाद्र २०७७, शुक्रबार