कोभिड नियन्त्रणमा तारकेश्वर नगरले गर्यो २ करोड २४ लाख खर्च, कुन शीर्षकमा कति ?

तारकेश्वर, ९ भदौ । तारकेश्वर नगरपालिकाले कोभिड नियन्त्रणका लागि २ करोड २४ लाख ३ हजार ४ सय ८७ रूपैयाँ खर्च गरेको छ ।

नगरपालिकाले चैतयता क्वारेन्टाइन व्यवस्थापन, उपचार व्यवस्थापन, औषधि खरिद र राहत वितरणमा उक्त रकम खर्च गरेको नगरका प्रवक्ता विदुर सापकोटाले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

नगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार सबैभन्दा बढी रकम राहत वितरणमा खर्च भएको छ । राहत वितरणका नाममा १ करोड ९७ लाख २९ हजार २ सय ५ रूपैयाँ खर्च भएको छ ।

त्यसैगरी, उपचार व्यवस्थापनमा १४ लाख ७४ हजार २ सय ९०, क्वारेन्टाइन व्यवस्थापनमा ७ लाख ६५ हजार ७ सय ५६ र औषधि खरिदमा ४ लाख ३४ हजार २ सय ३६ रूपैयाँ खर्च भएको छ।

नगरका अनुसार चैतदेखि असारसम्म उक्त रकम खर्च गरिएको हो भने साउनबाट कोभिड नियन्त्रणमा खर्च भएको छैन ।

९ भाद्र २०७७, मंगलवार