जनता घरमा तड्पिएर बस्ने, बनेको आइसोलेसन प्रयोगमा नआउने !

चीनको बुहानबाट विश्वभर फैलिएको नोबेल कोरोना भाइरसबाट नेपाल पनि अछुतो रहेन । यो सबैलाई विदितै छ । अहिले नेपाल कोरोनाको केन्द्र बनेको छ। हाम्रा शासकहरुको लापरबाही र संवेदनहिन तर्कका कारण जनता मारमा परेका छन्। विश्वभर कोरोना फैलँदै गर्दा यहाँका मन्त्रीहरु नेपाल भ्रमणबर्ष मनाउँदै थिए, सरोकारवाला मन्त्रीहरु नक्कली कीट ल्याएर भ्रष्टाचारमा लिप्त थिए। प्रधानमन्त्री बेसार खाएर कोरोना उडाउने तर्क गर्दै थिए। जब साँच्चै पर्यो तब सयौंको संख्यामा जनताको ज्यान गयो, अब अहिले हामिसँग पर्याप्त समयपनि छैन पुर्वाधार पनि छैन, अस्पतालमा शैया छैन, भ्यान्टिलेटरको अभाव छ। डाक्टर र नर्सहरुलाई सुरक्षाको साथ काम गर्ने पर्याप्त सुरक्षा सामाग्री छैनन्। यो दुर्दशा सरकारको संवेदनहीन कार्यशैलीको उपज हो ।

काठमाडौंमा अहिले भुसको आगो झै कोरोना संक्रमण फैलिरहेको छ । दैनिक ३ सयको दरमा संक्रमण पुष्टि हुन्छ तर अस्पतालमा बेड छैन भन्ने समाचारहरु आउँछन् । काठमाडौंमा ५ हजार शैयाको आइसोलेसन बनाउने भनेर समाचारहरु आए तर जनप्रतिनिधिहरु हात बाँधेर बसेको अवस्था छ। अहिलेसम्म एउटा ठाउँमा बन्यो भनेको समाचार सुनिएको छैन। काठमाडौं महानगरपालिकाका मेयर र आसपासका नगरपालिकाका मेयरहरु यस विषयमा संबेदनशिन भएको देखिँदैन। दैनिक संक्रमण बढ्दो अवस्थामा व्यवस्थापनको लागि कुनैपनि तयारी नहुँदा जनताहरु घरमै छटपटाएर बस्न बाध्य छन्। एउटा कोरोना संक्रमित घरमा हुँदा बाँकी परिवार सदस्यलाई सर्न सक्ने सम्भावना अति उच्च हुन्छ, तर यहाँका जनप्रतिनिधिहरु आइसोलेसन बनाउन नसकेर चुकेका छन्।

तारकेश्वर नगरपालिकामा पनि यस्तै अवस्था छ, हामीले महिनौंदेखि यहाँका नगर प्रमुखलाई तयारीमा जुट्न र पुर्वाधार निर्माणका लागि झकझकायौं तर अहिले तारकेश्वर नगरपालिकामा १ सयभन्दा धेरै संक्रमित पुगिसकेको अवस्था छ। हिजो एकजना जनता संक्रमित देखिँदा नै तयारीमा जुट्नको लागि पहल गर्यौं तर केन्द्रको रोगले यहाँका जनप्रतिनिधिहरु पनि अछुतो रहेनन् । आज नगरका ५० भन्दामाथि संक्रमितहरु घरमै बस्न बाध्य छन्, ती संक्रमितसँग वहाँहरुका परिवार पनि सँगै बस्छन्। यस्तो अवस्थामा त संक्रमण झनै तीव्र रुपमा फैलिने सम्भावना हुन्छ। यहाँ महिनौंदेखि आइसोलेसन बन्दैछ भनेर मिडिया समाचार आएपनि आज सयजना भन्दा माथि संक्रमित हुँदा पनि संचालनमा आइसोलेसन सञ्चालनमा आएको छैन। तारकेश्वर नगरपालिका वडा नं १ मा आइसोलेसन बनेको कुरा मिडियामा आउने तर संक्रमित घरमै तड्पिएर बस्ने अवस्था छ। जनप्रतिनिधिहरु न जनताप्रति उत्तरदायी भएका छन् न त न्युनतम मानवीय संवेदना नै देखिन्छ उनिहरुमा।

भएका अस्पतालहरु वडा कार्यालय र नगरपालिकाका विभागहरु बसेर ओगटेका छन्, हामीले बारम्बार अस्पताल संचालनमा जोड दिँयौं तर यहाँका जनप्रतिनिधिहरु कानमा तेल हालेर बसेका छन् । नगरपालिकामा न्युनतम पुर्वाधार बनाउन नसकेका जनप्रतिनिधिहरुबाट आज जनताले दुख बाहेक अरु केही पाएका छैनन् । यो महामारीमा जनताप्रति उत्तरदायी हुन नसकेका जनप्रतिनिधिहरु वास्तवमै जनताको असल सेवक कदापि हुन सक्दैनन् । यस महामारीको गम्भीर समयमा जनताको हितका निम्ति निस्वार्थ र द्रुतगतिमा काम गर्ने सद्वुद्धि जनप्रतिनिधिहरुमा आओस् ।

१५ भाद्र २०७७, सोमबार