निजी जग्गा सम्याउन नगरपालिकाको डोजर, विरोध आएपछि वडाध्यक्ष पछि हटे

तारकेश्वर, १९ भदौ । तारकेश्वर नगरपालिका वडा नं ३ मा रहेको एक निजी जग्गा सम्याउन सरकारी डोजरको प्रयोग भएपछि त्यसको विरोध भएको छ ।
नगरको जीतपुरफेदीमा रहेको स्थानीय नारायण फुयाँलको ९ रोपनी जग्गालाई फुटबल चौर बनाउने भन्दै वडाध्यक्ष मनोहरी तिवारीकै अग्रसरतामा नगरपालिकाको डोजर लगाएपछि विवाद निक्लिएको हो । डोजर लगाइएको जग्गा शिवपुरी राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको छ । सो स्थानमा राष्ट्रिय निकुञ्जको अनुमति बिना जग्गा सम्याउन नपाएपछि जग्गाधनीले वडाध्यक्षलाई प्रभावमा पारेर सरकारी डोजरले निजी जग्गा सम्याएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।
मध्यवर्ती क्षेत्रका साथै चार रोपनी भन्दा बढि जग्गा प्लानिंग गर्न शहरी विकास विभागको स्वीकृति लिनुपर्ने प्रावधान मिचेको आरोप लगाउँदै स्थानीयले विरोध गरेपछि डोजर लगाएको २ घण्टामै रोकिएको थियो ।
स्थानीय युवाहरुको मागमा फुटबल चौर बनाउन सहि नियतले डोजर प्रयोग गरेको वडाध्यक्ष तिवारीले तारकेश्वर अनलाईनलाई बताए । ‘त्यो पहिले नै सम्याइसकेको स्थान हो । फुटबल खेल्न मिल्ने गरि केही सम्याउन खोजिएको हो । विरोध आएपछि त्यो पनि रोकिएको छ ।’ उनले भने ।
वडाध्यक्ष तिवारीले निजी जग्गा भएपनि एकदुई वर्षका लागि फुटबल ग्राउण्ड बनाउन जग्गाधनीले मौखिक प्रतिवद्धता जनाएको भन्दै चौर व्यवस्थापनमा वडाले सहयोगमात्र गरेको दावी गरे ।