६ महिना बित्यो, अझै आइसोलेसन बनेन मेयरसाब ?
विश्व यतिबेला कोरोना भाइरसबाट आतंकित छ, करोडौं मान्छेहरु यसबाट प्रताडित छन्, केही लाख व्यक्तिहरु संक्रमणबाट मुक्त भएका छन्। बाँकी कतिपय जिवनमरणको दोसाँधमा समेत छन् ।
यतिबेला सारा विश्वभरका मुलुकमा जनताको स्वास्थ्यलाई पहिलो प्रथमिकतामा राखिएको छ र बाँकी कामहरुलाई दोश्रो प्राथमिकतामा राखिएको छ। तर, हाम्रो देशमा यसको विपरीत भएको जस्तो देखिएको छ। नेपालमा ४३ हजारभन्दा धेरै संक्रमित फेला परेका छन्, दैनिक सयौंको संख्यामा नयाँ बिरामी भेटिदैछन् । तर, यहाँका शासकहरु हरुवाचरुवालाई राष्ट्रिय सभामा लैजाने र सत्ता टिकाउने खेलमा व्यस्त देखिन्छन् ।
बिरामीहरु पर्याप्त आइसोलेसनको अभावमा तड्पिरहनु परेको अवस्था छ । अस्पतालहरुमा भ्यान्टिलेटरको अभाव छ । अस्पतालमा शैया नपाएर कयौंले अकालमा ज्यान गुमाउँदै छन् । तर, हाम्रा देशका शासकहरु सर्प पाल्न र राममन्दिर बनाउन केन्द्रित देखिन्छन्। बनेका संरचनाहरु ध्वस्त अवस्थामा लथालिङ्ग छन्, कतै अस्पताल भनेर संचालन गरिएका भवनहरुमा जनप्रतिनिधिको कब्जा छ, न त यहाँ कुनै नीति छ न कुनै योजना नै देखिन्छ। यस्तो विषम परिस्थितिमा पनि शासकहरु संवेदनशील देखिदैनन् । संवेदना हराएका जनप्रतिनिधिहरु यतिबेला पनि आफ्नै खल्ती भर्ने र खल्तीका मान्छेलाई उतार्ने खेलमा मस्त देखिन्छन्।
कोभिड १९ को सुरुवातमै गर्नुपर्ने तयारीहरु ६ महिना बितिसक्दा पनि तयार छैनन्, कोरोनाबाट संक्रमित भएकाहरु समाजमा जताततै अपहेलित र घृणित भएको महशुस गर्दैछन्, आत्महत्या जस्तो अकल्पनीय घटनाहरु घटिरहेको छ। यस्तोमा संक्रमितहरु घरमै बस्न बाध्य छन्, न त स्वास्थ्यकर्मिहरु उनिहरुको घरमा पुग्छन् न त हालचाल नै सोध्ने व्यवस्था छ। हाम्रै तारकेश्वर नगरपालिकाको कुरा गर्दा नगरले होम आइसोलेसनमा बस्ने संक्रमितलाई ५ हजार दिने घोषणा त गर्यो तर उनिहरुको ज्यानमा पर्नसक्ने तलमाथिको जिम्मेवारी लिने आशय देखाएन । केहिगरि ज्यान गएमा मधुमेह, उच्च रक्तचाप र अन्य कारण देखाइदिने तर बेलैमा उपचार नपाउने अवस्था छ।
तरकेश्वर नगरपालिकामा ६ महिना अगाडि नै आइसोलेसन बनेको समाचार आयो तर अहिलेसम्म एकजना बिरामीलाई त्यहाँ नराख्नु कसको कमजोरी हो मेयरसाब ? घरमै संक्रमित रहँदा त्यस परिवारलाई पर्नसक्ने जोखिम तपाईंले दिएको ५ हजारले निराकरण गर्छ त ? आजसम्म एउटा आइसोलेसन संचालनमा ल्याउन नसक्ने तपाईंलाई त्यो पदमा बस्न नैतिकताले दिन्छ ? जनताको लागि राजनीति गरेको हो भने खै त जनताले तपाईं भएको महशुस गरेको ? आसेपासेलाई पोषण गरेरमात्र यो कार्यकाल खेर फाल्ने तपाईंको नीति हो भने तुरुन्तै पदबाट हट्नुस ? होइन भने जनताको लागि गर्नुस् लाचार बन्ने समय होइन यो। मेयरसाब तपाईंको निकम्मापनको सजाय हामीले किन भोग्ने ?
धन्यवाद ।