समाचार प्रभावः नेतादेखि पत्रकार मिलेर चलाएको नुवाकोटको अवैध क्रसरमा प्रशासनको ताला

नुवाकोट, ३ असोज । नुवाकोट सदरमुकाम विदुरमा स्थानीय नेता एवं पत्रकार मिलेर अवैध क्रसर उद्योग चलाएको र अदालतको आदेशसमेत अटेर गरेको समाचार तारकेश्वर अनलाईन लगायत सञ्चारमाध्यममा प्रकाशित भएसँगै नुवाकोट जिल्ला प्रशासनले गगंटेस्थित बर्डस्टोन क्रसरमा ताला ठोकेको छ ।

नुवाकोटका सहायक सिडियो बद्रीनाथ गैरेको नेतृत्वमा गएको टोलीले शुक्रबार क्रसरमा ताला लगाएको हो ।

सर्वोच्च अदालतको आदेश र स्थानीयको विरोध बाबजुद काँग्रेसका प्रदेशसभा सांसदमा पराजित रमेश महत, विनोदराज श्रेष्ठ, चेम्बर अफ कमर्स नुवाकोटको उपाध्यक्ष समेत रहेका सुन्दरमान दुवाल, पत्रकार महासंघको नुवाकोटका पूर्व अध्यक्ष प्रकाश अधिकारी, पूर्व माओवादी पृष्ठभूमिका हाल नेकपा नगर कमिटिका सदस्य राजाराम अधिकारी, विदुर खानेपानी उपभोक्ता संस्थाका उपाध्यक्ष एवं नेकपा नगर कमिटि सदस्य सञ्जिबहादुर श्रेष्ठ लगायतले अवैध क्रसर चलाउँदै आएका थिए ।

उनीहरुलाई क्रसर चलाउन विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितले सहजिकरण गरेको स्थानीयको आरोप छ । उनले नगरले बनाउने सडक र अन्य सरकारी विकास निर्माणका नाममा भन्दै अदालतको आदेश विपरित बर्डस्टोनलाई नदि उत्खनन् गर्न अवैध स्वीकृति दिलाएका थिए । हाल जिल्ला प्रशासनले वर्डस्टोनमा ताला लगाएसँगै मेयर पण्डितले त्यसको रिस पत्रकारहरुलाई पोखेका छन् । आफैले अवैध काम गरेका पण्डितले आफुमाथिको आलोचना र प्रश्नको जवाफ दिनुको साटो पत्रकारहरुलाई पालेर गलत सूचनाहरु प्रवाह गरिएको आरोप लगाएका छन् । क्रसर बन्द भएसँगै मेयरमा छटपटी देखिनुलाई रहस्यपूर्ण रुपमा हेरिएको छ ।

यसअघि स्थानियबासीले सर्वोच्च अदालतको आदेश विपरित सो क्रसर संचालन भएको भन्दै बन्द गर्नं माग गदै दुईसाता अघि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु कार्यालय, विदुर नगरपालिका वडा नम्बर ५ मा निवेदन दिएका थिए । स्थानियबासीले २०७५÷०३÷२५ गतेको आदेश विपरित क्रसर संचालन भएको भन्दै विदुर नगरपालिका, घरेलु कार्यालय,डिभिजन वन कार्यालय र जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पनि मुद्दा दर्ता गराएका छन् । स्थाननीय राजकुमार राईसहित ८८ जनाले सर्वोच्च अदालतको आदेश विपरित विदुर नगरपालिकाको ठाडो आदेशमा क्रसर संचालन भएको भन्दै तत्काल सर्वोच्चको निर्णय कार्यान्वयन गराउन माग गरेपछि सुरुमा अवैध क्रसरहरुले स्थानीयलाई धम्क्याएर तथा फकाएर अवैध कामलाई निरन्तरता दिन खोजेपनि त्यो असफल भएको हो ।

जिल्ला प्रशासनले शुक्रवार ताला लगाएसँगै रुष्ट बनेका सञ्चालक र मेयरले समेत एक कार्यक्रममा पत्रकारलाई किनेर गलत कुरा प्रचार गरिएको बताएका छन् । तर, क्रसरको बारेमा समाचार नलेख्ने पत्रकारलाई आफुहरुले कतिमा किनेको भन्ने पण्डितले उल्लेख गरेनन् । नुवाकोटका अवैध क्रसरबाट निकालिएको बालुवा गिट्टी निःशुल्क प्राप्त गरेका पत्रकाहरुले अवैध क्रसरका बारेमा समाचार नलेख्ने गरेको र ती मान्छेले मेयरको चाकडी गर्ने गरेर समाचार प्रशारण गर्ने गरेको वडा नं ५ का एक स्थानीयले भने । उनले भने, ‘यहाँका पत्रकारका घरपनि अवैध बालुवागिट्टीले बनेको छ । उनीहरु बोल्दैनन् । तर, हामी पछाड हट्दैनौ अवैध काम रोकेर छाड्छौं ।’

३ आश्विन २०७७, शनिबार