कृषिविज्ञ अधिकारी भन्छन्ः ‘काँठमा गोठ मासेर ग्यारेज र गाई मासेर कुकुर पालन’ बढ्नु दुःखद !
तारकेश्वर, ३ असोज । मनमैजु सांस्कृतिक समाजले आफ्नो नियमित छलफल श्रृंखला मन्थनको यो अंकमा कृषि विज्ञ एवं राष्ट्रिय किसान समूह महासंघका संस्थापक अध्यक्ष उद्धव अधिकारी लगायत सरोकारवालासंग कृषि संवाद गरेको छ ।
समाजले मासिक रुपमा आयोजना गर्ने मन्थनको यस अंकमा पनि भर्चुअल रुपमा छलफल आयोजना गरिएको हो । ‘तारकेश्वरमा प्रांगारिक कृषि र अबको बाटो’ शीर्षक दिइएको छलफलमा कृषिकर्ममा लागेका विभिन्न सरोकारवाला सहभागी थिए । कार्यक्रमका प्रमुख वक्ता खाद्यका लागि कृषि अभियानका संयोजक समेत रहेका विज्ञ अधिकारीले हाल नेपालमा भइरहेको समग्र कृषिका अभ्याँसहरुका बारे चर्चा गरेका थिए । प्रांगारिक कृषिको प्रवद्र्धनका निम्ति गरिनुपर्ने कामहरुका बारेमा अधिकारीले प्रकाश पारेका थिए ।
नेपाललाई कृषिप्रधान देश भन्ने गरिएपनि वर्षेनी दुई खर्बको कृषिजन्य सामाग्री आयात हुने गरेको भन्दै अधिकारी यो अवस्थामा छिमेकी दुई ठूला देशसँग प्रतिस्पर्धा गर्न नेपाललाई चुनौतिपूर्ण रहेको बताए । सरकारले प्रांगारिक मललाई प्रोत्साहन गर्ने भनिएपनि ठोस योजना नचालेको उनको गुनासो छ । सरकारले रासायनिक मलका लागि यो वर्षपनि ११ अर्ब बजेट राख्दा जैविक मल उत्पादनका लागि बजेट नराखेको भन्दै कृषिविद अधिकारीले देशमा रासायनिक मलको कारखना नभई जैविक मल उत्पादनमा सरकारले लगानी गर्नुपर्ने आवश्यक्ता औंल्याए ।
वीरगञ्जको कृषि औजार कारखना क्षमता हुँदाहुँदैपनि दुईजना कर्मचारीको भरमा चलेको तीतो यथार्थ पेश गर्दै अधिकारीले कृषि क्रान्ति राजनीतिक दस्तावेजमा भनिएजस्तो नभएको दावी गरे ।
तारकेश्वरमा हालसम्म ५० प्रतिशतभन्दा धेरै भूभाग कृषियोग्य भएपनि त्यसको तीव्र रुपमा घडेरीकरण र शहरीकरण भैरहेको अधिकारीको अनुभव छ । उनले कृषिकर्मको पुस्तान्तरण नहुनु, नयाँ पुस्तालाई कृषिप्रति चासो नहुनुपनि विडम्बनापूर्ण भएको धारणा राखे । अधिकारीले रासायनिक मलको अनियन्त्रित प्रयोगले जमिनको अम्लीयपना बढेको, उब्जनीमा समेत ह्रास आएको बताए । ‘किटनाशकको प्रयोगले कृषिमैत्री प्राणीहरु मारिएको छ । खेतमा फट्यांग्रा, गड्यौला छैनन् । खोलामा माछा छैन । विषादीको प्रयोगले जमिनको जैविक विशेषता र गुण ह्रास हुँद गएको छ ।’ अधिकारीले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाको कृषि शाखाकी प्रमुख मिना कुमारी थापाले नगरपालिकाद्वारा कृषिमा गरिएका कामहरुका बारेमा जानकारी दिइन् । नगरपालिकाले १० वर्षे कृषि रणनीति बनाउने काम थालेको उनले बताइन् । युरिया लगायत रासायनिक मलको प्रयोगले तारकेश्वरको माटो बिग्रिएको भन्दे उनले नगरको अग्रसरतामा जनतालाई प्रांगारिक बनाउन, कम्पोष्ट मलको उद्योग चलाउन, च्याउ र मौरीबाट उत्पादन गर्ने मलहरु बनाउने कारखनालाई अनुदान दिने जानकारी दिइन् । चालु आर्थिक वर्षमा प्रांगारिक उत्पादनलाई प्रवद्र्धन गर्न पचास पचास साझेदारीमा सहकारीसँग मिलेर प्रांगारिक खेती गर्ने योजना हरेको थापाले सुनाइन् ।
नगरले औजार र बिउमा अनुदान दिने प्राविधिक र मिनि किटहरु निशुल्क दिने गरेको पनि उनले जानकारी दिइन् । काभ्रेस्थलीमा जस्तै तरकारी संकलन केन्द्र अन्य वडामा पनि विस्तार गर्ने उनको दावी छ ।
नगरको कृषि शाखाकी प्राविधिक रीता सिग्देलले १० वर्षे कृषि रणनीति बनाउनका लागि सबै वडामा छलफल गरेर अघि बढ्ने बताइन् । उनका अनुसार रणनीति बनाउन महामारी शान्त भएसँगै सबै वडाबाट सुझावहरु संकलन गरिनेछ । अघिल्लो आववर्षमा ३० लाख कृषिमा विनियोजन भएकोमा पहिलो चौमासिकमा च्याउ खेतीको तालिम तथा अनुदान दिएको, कृषि बीमाको अभिमुखिकरण गरिएको । नगरका शहरी क्षेत्र वडा नं ४ र ५ का महिलालाई कौसीखेतीको तालिम दिइएको उनले जानकारी दिइन् । प्लाष्टिक टनेल, जैविक विषादी निर्माण र बीउमा ५० प्रतिशत अनुदान र किसानलाई १ हजार केजी धानको उन्नत वितरण गरिएको उनले आंकडा पेश गरिन् ।
यद्यपी नगरपालिकाको अघिल्लो वर्षको बजेटमा कृषि तर्फ १३ लाख र पशुपालन तर्फ १४ लाख बजेट फ्रिज हुनु दुखद भएको कार्यक्रमका सहभागीले टिप्पणी गरे । मन्थन कार्यक्रममा तारकेश्वरमा रहेरक कृषि कार्यमा संलग्न किसान, अभियन्ता, पत्रकार, जनप्रतिनिधि लगायत सहभागी थिए ।
४ आश्विन २०७७, आईतवार