दुप्चेश्वरका महिला समुहलाई औजार हस्तान्तरण

नुवाकोट, १८ असोज । नुवाकोटको दुप्चेश्वर गाउपालिका र सहकार्य समाज नेपालले गाउँपालिकभित्रका बिभिन्न ५ वटा महिला समुहलाई धान, मकै , गहुँ, कुटानी –पिसानी मिल , कोदो थ्रेसर र मसला मिसानी मिलको सेट हस्तान्तरण गरेको छ ।

दुप्चेश्वर गाउपालिकाका अध्यक्ष योबिन्द्र सिङ तामांग, उपाध्यक्ष अन्जु आचार्य, सहकार्य समाज नेपालको अध्यक्ष निलकण्ठ आचार्य र वडा नम्बर ६ का अध्यक्ष किशोर आचार्यले ५ वटा महिला समुहका अध्यक्ष तथा पदाधिकारीलाइ सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

यूएनडीपीद्वारा सञ्चालित, दुप्चेश्वर गाउपालिका र थाईल्याण्ड सरकारको आर्थिक सहयोगमा सामुदायिक पूर्वाधार तथा जिविकोपार्जन पुनस्थापना कार्यक्रम सहकार्य समाज नेपालको साझेदारीमा गाउपालिकामा संचालन भैरहेको छ ।

हस्तान्तरण कार्यक्रममा गाउपालिकाका अध्यक्ष योबिन्द्र तामांगले ग्रामिण भेगका महिलाहरुले कुटानी पिसानीमा कस्टकर जीवन बिताईरहनु परेको कारण सामाग्री वितरण गरेको र आगामी दिनमा पनि यस्ता जीविकोपार्जन संग सम्बन्धित कार्यक्रमहरु गाउपालिकाभित्र संचालन गरिने बताए । त्यसका लागि सहकाकार्य गर्न गाउँपालिका सँधै तत्पर रहेको उनको भनाइ छ । त्यस्तै, उपाध्यक्ष अन्जु आचार्यले वितरित सामुदायिक संरचना तथा जीविकोपार्जन कार्यक्रमले गाउपालिकाको योजनामा रहेका कार्यक्रमलाई सहयोग पुर्याएको बताइन् । पालिका भित्र रहेका महिलाले केहि गरौं भन्ने भावना राखेर समुहमा सक्रिय रहेकाले उनीहरुको आयआर्जन तथा क्षमता बढाउने कार्यक्रमको लागि सँधै सहयोग गर्ने उनको प्रतिवद्धता छ ।

सामाग्री हस्तान्तरण कार्यक्रममा सहकार्य समाज नेपालका अध्यक्ष निलकण्ठ आचार्यले जिविकोपार्जन कार्यक्रम हेर्दा सानो देखिएपनि यसलाई सहि ढंगले सदुपयोग गर्ने हो भने स्थानीयको जीवनस्तर सुधार गर्न महत्वपूर्ण सहयोग पुग्ने दावी गरे ।

जीविकोपार्जन सम्बन्धी १ वटा कलेक्सन सेन्टर, १ वटा रस्टिक हाउस ,१ वटा बिउबिजन तथा कृषि सामग्री भाडा घर , ८ वटा सिँचाई, ५ वटा गोरेटो बाटो मर्मत र ५ वटा समूहहरु कुटानी पिसानी साना उद्योगका रुपमा गाउँपालिकामा सञ्चालन भैरहेको छ ।