कोरोनाले मृत्यु भएपछि सेनाले गाडेको शव निकालेर ५ महिनापछि दाहसंस्कार

अर्घाखाँची । अर्घाखाँचीको एक परिवारले कोरोनाका कारण मृत्यु भएपछि सेनाले शव गाडेका आफ्ना बुबाको शव निकालेर पुनः दाहसंस्कार गरेका छन् । परम्परागत धार्मिक संस्कार अनुसार बुवाको दाहसंस्कार गर्न नपाई सेनाले गाडेको शव उत्खनन् गरी उक्त परिवारले शव जलाएको हो ।

नेपाली संचारमाध्यमहरुका अनुसार अर्घाखाँचीका बाबुराम खनालले साढे चार महिना भन्दा बढी समयपछि बुवाको हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गरेका हुन् । उनका ५७ वर्षीय पिता यमप्रसाद खनालको जेठ २८ मा कोरोना संक्रमणका कारण ज्यान गएको थियो ।

जेठ ३० मा नेपाली सेनाले घर नजिकै रहेको ठूलढुंगा भन्ने क्षेत्रमा उनको शव गाडिदिएको थियो । त्यस समय सरकारको प्रोटोकल अनुसार कोरोना संक्रमितको शव परिवारले हेर्न पाउने प्रावधान थिएन । सबै शव नेपाली सेनाले व्यवस्थापन गर्दै आएको थियो ।

भारतबाट नेपाल फर्किएका यमप्रसादमा क्वारेन्टिनमा बसेको समयमा जेठ २३ मा कोरोना परीक्षणको लागि स्वाब संकलन गरिएको थियो । उक्त स्वाव हराएको भन्दै उनको २८ जेठमा दोस्रो पटक स्वाब संकलन गरिएको थियो। दोस्रो पटक संकलन गरिएको स्वाबको रिपोर्ट ३० जेठमा मात्र आएको थियो ।

त्यतिन्जेल उनको शव परिवारसँगै थियो । तर, कोरोना पुष्टी भएपछि भने सेनाले जबर्जस्ती लगेर गाडिदिएको थियो । उनको शव गाड्ने विषयमा समेत स्थानीयले अवरोध गरेका कारण समस्या भएको थियो ।

घर नजिकै ल्याएर शव गाडेका कारण मानसिक पिडा हुने भएकाले उत्खनन् गरी दाहसंस्कार गरेको परिवारले जनाएका छन् । उनको पवित्र धार्मिक स्थल गुल्मीको रिडीमा दाहसंस्कार गरिएको छ ।