त्रिशूली अस्पतालमा कोरोना सक्रमित गर्भवतीलाई सुत्केरी सेवा

नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटले कोभिड–१९ (कोरोना) सक्रमित एक महिलालाई प्रसुती सेवा उपलब्ध गराएको छ । जिल्लाको तारकेश्वर गाउँपालिका–६ निवासी २१ वर्षीया कोरोना सक्रमित ती महिलाले आइतबार अस्पतालमा शिशु (छोरा) जन्माएकी छिन् ।

व्यक्तिगत सुरक्षाकवच सहितको सावधानी अपनाएर कन्सल्टेण्ट, प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा.सुनिता केसी र नर्स सुमित्रा न्यौपानेले त्रिशूली अस्पतालमा प्रसुती सुत्केरी सेवा मार्फत महिलाको नर्मल (स्वभाविक डेलिभरी) सुत्केरी गराइएको छ ।

कोभिड–१९ सक्रमित महिलाको लागी ‘विशेष आइशोलेसन’ निर्माण गरेर सुत्केरी सेवा उपलब्ध गराइएको हो । कोरोना सक्रमितको उपचारको लागी त्रिशूली अस्पतालमा क्लिनिक सेवा भएपनि सक्रमितको स्वास्थ्यमा समस्या देखिए काठमाडौमा पठाइने गरिएको थियो ।

“कोरोना सक्रमित भएका गर्भवतीको नियमित जाँच तथा परीक्षणको सेवा उपलब्ध गराउदै आएपनि गर्भवतीमा सक्रमण देखिएको सेवाग्राहीलाई सुत्केरी सेवा दिएको यो पहिलो पटक हो ।” डा.केसीले भन्नुभयो “अस्पतालमा हाल उपचारको लागी भिन्दै आइशोलेसन नभएपनि विशेष आइशोलेसन तयार गरेर सामान्य अबस्थामा नै उहाँ-सक्रमित महिला)लाई सुत्केरी गराएका हौ ।”

सेवाग्राहीको बृद्धि :

कोभिड–१९ को सक्रमणको जोखिमको कारण नुवाकोट बाहिर बसोबास गर्दै आएकाहरु घर फर्किएको र अन्यत्र सेवा लिन जाँदा हुनसक्ने जोखिमको कारण हाल त्रिशूली अस्पतालमा गर्भवती परीक्षण र सुत्केरी सेवा लिने बिरामीको सङ्ख्या निकै बढेको तथ्याङ्क छ । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेको अनुसार कोभिड–१९को सक्रमण सुरु हुनपूर्व अस्पतालमा सुत्केरी सेवा लिनेको सङ्ख्या ५०–६० जनाको हाराहारीमा हुने गरेकोमा त्यो सङ्ख्या बढेर हाल २०० नाघ्न थालेको छ । काठमाडौमा गर्भवती जाँच गराउदै आएकाहरु अहिले घर फर्केसगैँ यतै परीक्षण गराउनेको दर पनि बढेको छ । “कोरोनाको जोखिमको कारण फोन मार्फत चिकित्सकसंग परामर्श लिन आग्रह गर्दै आएका छौ ।” अस्पतालका अध्यक्ष न्यौपानेले भन्नुभयो “चिकित्सकको परामर्शको आधारमा आवश्यक परेमा मात्र अस्पताल बोलाउदा समेत दैनिक गर्भवती जाँच गर्नेको सङ्ख्या ७० जनाभन्दा माथी छ ।”

त्रिशूली अस्पतालले पछिल्लो एक वर्षदेखि कन्सल्टेण्ट, प्रसुती तथा स्त्री रोग विशेषज्ञ मार्फत सेवा उपलब्ध गराउन थालेसगैँ सेवाग्राहीको सङ्ख्यामा बृद्धि भएको पाइएको छ ।

यो साताभित्रै आईसीयू सुरु हुने :

त्रिशूली अस्पताल नुवाकोटमा यो साता भित्रै सघन उपचार कक्ष (आईसीयू) सेवा सुरु गर्न लागिएको छ । अस्पतालको स्तरबृद्धि भएर ५० श्यया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरागर्ने क्रममा दश श्ययाको आईसीयू सञ्चालनको लागी तयारी अन्तिम चरणमा पुराइएको अस्पतालका अध्यक्ष अजुर्न न्यौपाने जानकारी दिनुभयो । “अहिले उपकरण जडानको काम भैरहेको छ । बाग्मती प्रदेस सरकारबाट प्राप्त दुई थान भेन्टिलेटर सहितको सेवाको लागी आवश्यक तयारी भैरहेको छ । पुस १ देखि सेवा दिने गरेर कर्मचारी भर्ना र तालीम, उपकरण जडान सहित आवश्यक स्वास्थ्य सामाग्रि तयार भैसकेको छ ।”

भूकम्पले क्षति पुगेको त्रिशूली अस्पताल पुर्ननिर्माण पश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाहले नुवाकोट सहित रसुवा र धादिङको बिरामीको लागी सेवाको गुणस्तर सुधार हुदै आएको छ ।

अस्पतालमा गत कात्तिक ८ गतेदेखि कोरोना जाँच गर्ने प्रयोगशाला सेवा समेत सञ्चालनमा छ । (रासस)