तारकेश्वर-१ को भलेश्वर हाइट टोल सुधार समितिको अध्यक्षमा भेटुवाल

तारकेश्वर, २६ पुस । तारकेश्वर नगरपालिका वडा नं -१ साङ्गलास्थित भलेश्वर टोल सुधार समितिको अध्यक्षमा ध्रुवराज भेटुवाल चयन भएका छन् ।

शनिवार सम्पन्न समितिको दोश्रो वार्षिक साधारण सभाले भेटुवालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा बबिना गुरुङ्ग, सचिवमा आइत बहादुर थापा, कोषाध्यक्षमा विष्णु खनाल र सहसचिवमा रेवती गुरुङ्ग चयन भएका छन् । समितिको सदस्यहरुमा कल्पना गुरुङ्ग, सनबहादुर गुरुङ्ग, उद्धव खत्री र शामकुमारी गुरुङ्ग रहेका छन् ।

समितिकी निवर्तमान अध्यक्ष बिमला गुरुङको सभापतित्वमा सम्पन्न साधारण सभामा तानपा वडा नं १ का अध्यक्ष विदुर सापकोटा प्रमुख अतिथिका रुपमा सहभागी भए । नयाँ कार्यसमितिलाई बधाई दिँदै वडाध्यक्ष सापकोटाले १०० भन्दा धेरै घरधुरी रहेको भलेश्वर हाइटको समग्र विकासमा टोल सुधार समितिको महत्वपूर्ण भूमिका रहँदै आएको भन्दै नयाँ कार्यसमितिले थप सशक्त रुपमा विकास निर्माणको कार्य गर्ने विश्वास व्यक्त गरे ।

समितिका अध्यक्ष भेटुवालले टोलको विकास निर्माणमा आफ्नो सक्रिय प्रयास रहने भन्दै वडा, नगरपालिका र सम्बन्धित निकायसँग समन्वय गरेर भलेश्वर हाइटको सुधार र विकास गर्नु आफ्नो उद्देश्य रहेको बताए ।

टोलमा सुधार समितिले हाल भलेश्वर हाइटमा ढल हाल्ने योजना अघि बढाएको छ जसमा वडाले १५ लाख विनियोजन गरेको छ भने ३० लाख रकम उपभोक्ताबाट उठाई करिब ४५ लाखमा ढलनिकासको योजना सुरु भएको छ । यसका अलावा सडक कालोपत्रे गर्ने, खानेपानी वितरणलाई सहज बनाउन पहल गर्ने नयाँ कार्यसमितिको योजना रहेको छ ।

२६ पुष २०७७, आईतवार