सामुदायिक स्कूलको शानः नमूना विद्यालय बन्दै कालीदेवी मावि

तारकेश्वर १८, फागुन । तारकेश्वर नगरपालिकाको वडा नं २ मा रहेको कालीदेवी माध्यमिक विद्यालय नगरपालिका भित्रको नमूना विद्यालयको रुपमा चिनिन थालेको छ ।

नगरभित्र मात्र नभई देशभरका आमविद्यालयभन्दा पृथक कदमहरु चालेर विद्यालयले सामुदायिक विद्यालयको महत्व र गुणस्तरवृद्धिमा काम गरेको पाइएको हो।

कालीदेवी माध्यमिक विद्यालयको स्थापना २०४५ सालमा भएको हो । विद्यालयमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको छोराछोरी, शिक्षकशिक्षिकादेखि कार्यालय सहायक र अन्य कर्मचारीसम्मको छोराछोरी सम्मले अध्ययन गरिरहेका छन् ।

 

तारकेश्वर नगरपालिका वडा नं १ का अधिकांश स्थानीय अभिभावकको छोराछोरी संस्थागत विद्यालयमा भन्दा कालीदेवी माध्यमिक विद्यालयमा नै अध्ययन गर्छन् ।

काभ्रेस्थलीका अधिकांश अभिभावकले पनि संस्थागत विद्यालयको पढाइभन्दा कालीदेवी माध्यमिक विद्यालयको पढाई गुणस्तरीय र सुलभ भएको बताए ।

सरकारी विद्यालय भएपनि कालिदेवी माध्यमिक विद्यालयमा अङ्ग्रेजी भाषामा शिक्षण सिकाई हुने गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद ओझाले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।६ सय ७१ जना विद्यार्थी रहेको विद्यालयमा ५१ जना शिक्षकशिक्षिका तथा अन्य कर्मचारी कार्यरत छन् ।

 

विगतको वर्षहरुमा विद्यार्थी भर्ना शुल्क लिने गरेको विद्यालयले चालु शैक्षिक सत्रमा कोरोना भाईरसको प्रभावका कारण विद्यार्थीलाई आर्थिक समस्या हुन सक्ने भनेर भर्ना शुल्क पनि नलिएको विद्यालय प्रशासनले जनाएको छ ।

गुणस्तरीय शिक्षा र विद्यार्थीलाई उपयुक्त पृष्ठपोषणको लागि विद्यालयले हप्ताको हरेक शनिवार परीक्षा लिने गरेको छ ।विद्यार्थीको शैक्षिक क्षति हुन नदिन विद्यालयले बिहानी शत्रमा पनि कक्षा सञ्चालन गरिरहेको छ । गएको वर्षको एसईईमा कलिदेवी माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीले अधिकतम ३.९५ जिपिए प्राप्त गरेको र चालु शैक्षिक सत्रमा कालीदेवी माध्यमिक विद्यालयमा एसईई दिने ४४ जना विद्यार्थी रहेको प्रधानाध्यापक ओझाले जानकारी दिए ।