तारकेश्वर नगरपालिका विहानीचोक क्षेत्रमा डेढ महिनामै पिच भत्कियो, २९ लाख बजेट बालुवामा पानी

तारकेश्वर फागुन १८ । तारकेश्वर नगरपालिकाको वडा नं १ साङला स्थित विहानीचोक क्षेत्रको पक्की सडक बाटो पिच गरेको डेढ महिनापनि पुग्न नपाउँदै भत्किएको छ । आ.व. २०७७/७८ को नगरपालिकाको ५० लाख बजेट विनियोजनमा बोलपत्र आह्वान गर्दा ठेकेदार कम्पनीले २९ लाख बजेटमा सम्पन्न गरेको पक्की सडक बाटो डेढ महिनामै भत्किँदा नगरको बजेट वालुवामा पानी हाले जस्तै भएको छ ।

उक्त सडक निर्माणको काम स्पिड बिल्डर्स प्रा लिले गरेको हो । स्थानीय बासिन्दाले उक्त सडक बाटो निर्माणमा इन्जिनियर देखि नगरपालिकाले समेत चरम लापरवाही गरेको बताइरहेका छन् । तत्कालीन समयमा सडक बनाउने वेलामा पनि सडकको कुनामा लगाईएको मेसिनरी वाल गुणस्तरीय नभएको भन्दै वडाध्यक्ष विदुर सापकोटाले भत्काएर फेरि निर्माण गर्न निर्देशन दिएको बताइरहेका छन् भने त्यस्तो चरम लापरवाही गरेर गरेको कामलाई नगरपालिकाका इन्जिनियर हरेराम प्याकुरेलले पास गर्नुलाई पनि संकास्पद रुपमा हेरिएको छ ।

सडकमा पिच गर्ने समयमा स्थानीय बासिन्दाहरु सँग सहमति नगरी रातारात सडक निर्माण गरेको एक स्थानिय बासिले दावि गरेका छन् । भत्किएको सडकको इन्जिनियर सहितको टोलीले प्राविधिक अध्ययन गरेर स्पिड बिल्डर्स प्रा लि कम्पनीलाई बोलाएर पुनः गुणस्तरीय सडक मर्मत गर्न नगरपालिकालाई पत्राचार गरिसकेको वडा नं १ का वडाध्यक्ष विदुर सापकोटाले तारकेश्वर अनलाईनलाई जानकारी दिए ।

१८ फाल्गुन २०७७, मंगलवार