प्रधानमन्त्री रोजगार कार्यक्रमः तानपामा कोटाका आधा पनि रोजगार भएनन्

तारकेश्वर, २१ फागुन । सरकारले महत्वकांक्षी कार्यक्रमका रुपमा सुरु गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम तारेश्वर नगरपालिकामा पनि सञ्चालन भैरहेको छ । सरकारी कार्यक्रम अनुसार नगरपालिकामा १०० दिनको रोजगार कार्यक्रम सञ्चालन भइरहेको हो ।

तारकेश्वरको ११ वटा वडामध्ये १, २, ४, ५, ६, ७, ९, १०,र ११ नम्बर वडाका बेरोजगार व्यक्ति अहिले सञ्चालन भइरहेको रोजगार कार्यक्रममा सहभागी भएका छन ।

तारकेश्वरको विभिन्न ९ वटा वडाबाट ३ सय १७ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश हुन आवेदन फारम भरेकोमा ३ सय ३ जना चयन भएको र हाल १ सय १३ जनाले काम गरिरहेको अधिकारीले जानकारी दिइन् । तारकेश्वर नगरपालिकामा चालु आर्थिक वर्षमा ३ सय ३८ जना बेरोजगार व्यक्तिलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा समेट्न वजेट विनियोजन भएको थियो ।

शिक्षित बेरोजगार समेटिएन, ज्यालादारीलाई रोजगारीको नाम
प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश भएका अधिकांश व्यक्तिहरूले नगरपालिकाको भौतिक पूर्वाधार निर्माण गर्ने काम गरिरहेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत विभिन्न व्यवसायिक सीपमूलक रोजगारी सिर्जना गरिएको छैन । बरु अन्य शीर्षकको बजेटजस्तै ज्यालादारीमा नजिकका आसेपासेलाई दिनगन्ती काम लगाएर पैसा बाँड्ने काम मात्र भएको छ । जसले गर्दा रोजगार कार्यक्रमको मर्म स्थापित हुनसकेको छैन । सीपमूलक रोजगारी सिर्जना नभएकै कारण नगरपालिकामा ३ सय ३८ जनालाई रोजगारी दिनसकिने भएपनि १ सय १३ जनालेमात्र आवेदन दिनुले कार्यक्रमप्रति शिक्षित बेरोजगारहरु आकर्षित हुनसकेका छैनन् ।

दुईवटा वडामा कार्यान्वयन शून्य
प्रधानमन्त्री रोजगार कार्यक्रम तारकेश्वर नगरपालिकाका दुईवटा वडामा अझै कार्यान्वयनमा आउन सकेको छैन । नगरको रोजगार शाखाका अनुसार वडा नं ८ बाट कसैले पनि रोजगारीको लागि आवेदन दिएनन् । वडा नं ३ बाट आवेदन फारम भरेको भएपनि व्यक्तिको पूरा विवरण उपलब्ध नभएकाले रोजगार कार्यक्रममा नसमेटिएको तारकेश्वर नगरपालिका रोजगार संयोजक प्रतिमा अधिकारीले तारकेश्वर अनलाईनलाई जानकारी दिइन् ।