नेपालटार–शुभकामनाचोक क्षेत्रको पक्की बाटो भत्कियो,पिचै पातलो गरेको कुरा खुलासा

तारकेश्वर २७, फागुन । तारकेश्वर नगरपालिकाको नेपालटार शुभकामनाचोक हुँदै वडा नं १० को वडा कार्यालय जोड्ने पक्की पिच सडक भत्किएको छ ।
सडक पिच भएको ४ महिना नपुग्दै सडक ठाउँठाउँमा भत्किएको हो । उक्त सडक बाटो नगरपालिकाको आ व २०७७र०७८ मा विनियोजित बजेटबाट पिच भएको हो । १ करोड भन्दा बढी पर्याप्त मात्रामा बजेट विनियोजन गरिएको भएपनि कामको गुणस्तर हेर्दा बजेट तह लगाउने काम मात्र भएको देखिन्छ ।
तत्कालीन समयमा सडक पिच गर्दा पिच मापदण्ड विपरित र गुणस्तरीय नभएको भन्दै वडाध्यक्ष अमृत थापा सहित स्थानीयले चौतर्फी विरोध गर्दा नगरपालिका र सम्बन्धित इन्जिनियरले कसैको कुरा नसुनी पिच गरेको स्थानीय बताउँछन् ।
वडा नं ९ र वडा नं १० का वडाध्यक्षद्वय बलराम सिटौला र अमृत थापा सहित इन्जिनियर ससी गुरुङ र स्थानीयहरू बसेर संयुक्त रुपमा छलफल गर्दा पनि वडाध्यक्ष र स्थानीयले सडक पिच पातलो भएको र गुणस्तरीय नभएको भन्दै विरोध जनाउँदा इन्जिनियर गुरुङले नगरप्रमुखको आडमा पातलो र मापदण्ड अनुसार नभएको सडक पिचलाई पनि पास गरेका थिए ।
आधा इन्च मोटो पिच कार्तिक १७ गते रातारात सकियो
गत कार्तिक १७ गते रातारात सडको पिच भएको स्थानीयले बताएका छन् । पिच रातिमा भएको थियो । मापदण्ड अनुसार ५० एमएम को बाक्लो पिच हुनपर्ने भएतापनि इन्जिनियर ससि गुरुङको मिलेमतोमा कतै ३५ एमएम त कतै २५ एमएम मोटाईको मात्र पिच गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
हाल भत्किएको सडकको अवस्था हेर्दा पिच पातलो गरेको स्पष्ट देखिन्छ ।
इन्जिनियर शशि र नगरप्रमुखको मिलेमतो स्थानीयको आरोप
सडक भत्किनु र गुणस्तरीय नहुनुमा इन्जिनियर शशि गुरुङ र ठेकेदारदेखि नगरप्रमुख रामेश्वर बोहोरासम्मको मिलेमतो भएको स्थानीयले आरोप लगाएका छन् ।
नगरप्रमुखलाई इसारा गर्दै जनताको कुरा नसुनेको स्थानीयको आरोप छ ।
नगरप्रमुखको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र फितलो अनुगमन
पिच सकिएपछि मार्किङको समयमा नगरप्रमुख बोहराले सडकको स्थलगत अनुगमन गरेर सडको पिच पातलो भएको स्वीकार गर्दै पछि पिचमाथि पिच थप्ने भन्दै गैरजिम्मेवारी प्रतिकृया दिएको भन्दै स्थानीय आक्रोशित छन् । नगरपालिकाको हरेक विकासको काममा नगरप्रमुखको फितलो अनुगमन र लापर्वाही देखिएको छ ।
इन्जिनियर शशि गुरुङको भनाइ:
“हामीले मापदण्ड अनुसार नै गरेको थियौं । सडक एक ठाउँमा भत्किएको खानेपानीको पाइप फुटेर हो अरु ठाउँमा बिग्रिएको मलाई जानकारी छैन। वडाध्यक्ष र स्थानीयले जे पनि भन्छन । सडकको बिषयमा म छिट्टै मर्मत गर्न पहल गर्छु ।”