काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत तारकेश्वर नगरपालिकालाई एक करोड सहयोग

तारकेश्वर ५, चैत्र ।काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत तारकेश्वर नगरपालिकालाई एक करोड सहयोग रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

काठमाडौँ महानगरपालिकाले नगर–नगर साझेदारी कार्यक्रम अन्तर्रगत बुधबार उपत्यकाका पाँच ओटा नगरपालिकालाई धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ । दुई ओटा नगरपालिकासँग पनि छिट्टै हस्ताक्षर गर्ने योजनामा रहेको काठमाडौं महानगरपालिकाले बताएको छ ।

 

कार्यक्रमपछि महानगरपालिकाले तारकेश्वर नगरपालिका सहितको पाँच ओटा नगरपालिकालाई सम्झौतापत्र अनुरुपको चेक समेत हस्तान्तरण गरेको थियो।

काठमाडौँ महानगरपालिकाले आ.व. २०७७र०७८ को स्वीकृत नीति तथा कार्यक्रम बमोजिम नगर–नगर साझेदारी कार्यक्रम शीर्षकमा कागेश्वरी मनोहरा, दक्षिणकाली, ताराकेश्वर, किर्तिपुर र मध्यपुर ठिमी नगरपालिकासँग धार्मिक तथा पर्यटकीय पार्क तथा बहुदेश्यीय उद्यान निर्माणका लागि आर्थिक सहयोग गर्ने सम्झौता गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यले बताए।

 

महानगरपालिकाले ताराकेश्वर नगरपालिकाको वडा नं ५ को भ्युटावर र वडा नं २ मा रहेको तारकेश्वर राष्ट्रिय झण्डा पार्क निर्माणका लागि एक करोड सहयोग प्रदान गरेको छ ।

यसले तारकेश्वर नगरपालिकाको धार्मिक र पर्यटकीय पार्क निर्माण गर्ने र नगरमा पर्यटन प्रवद्र्धन र धार्मिक सम्पदाको संरक्षणमा महत्वपूर्ण मद्दत पुग्ने तारकेश्वर नगरपालिका वडा नं २ का वडाध्यक्ष रविन्द्र केसीले बताए ।

महानगरले तारकेश्वर नगरपालिकामा रहेको तारकेश्वर धाम निर्माणका लागि पनि एक करोड आर्थिक सहयोग गरेको थियो ।

बुधबारको कार्यक्रममा सबै नगरपालिकाका प्रमुख र उपप्रमुख प्रशासकीय अधिकृतको पनि सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले कोही एक्लै अघि बढ्न नसक्ने र सबैको सहकार्यमा मात्रै काठमाडौँ उपत्यका र समग्र देशको विकास गर्न सकिन्छ भन्ने सन्देश दिन पनि यस्तो कार्यक्रम अघि बढाएको बताए ।