सोमबारबाट गैँडा गणना सुरु,गणनामा ६० वटा हात्ती प्रयोग गरिने

तारकेश्वर ९, चैत । विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना नेपालमा सोमबारदेखिसुरु हुने भएको छ ।

गणनाको सबै तयारी पूरा भएको तथा चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ सुुरु गरिने चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्त्वमा हुन लागेको गणना वन तथा भूसंरक्षण मन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरी गैँडा गणनाको सुरुआत गर्ने कार्यक्रम रहेको छ ।

चितवन र पर्सामा आजदेखि , बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना सुरु हुने बताइएको छ।

चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको विभागले जनाएको छ ।

गणनाका लागि हात्ती र गणकहरु छनोटको काम गरेर आवश्यक तालिम समेत दिइएको छ ।गणनामा ६० वटा हात्ती प्रयोग गर्न लागिएको हो ।

मानवीय जनशक्ति सबै गरेर ३०० परिचालित हुनेछन् ।२२ भागमा विभाजन गरेर गैँडाको गणना गरिनेछ ।

सरकारले गत वर्ष गैँडा गणनाका लागि एक करोड १० लाख विनियोजन गरेको थियो ।

गत वर्ष केही सामग्री खरिद भएकाले यस वर्ष सरकारले ८० लाख विनियोजन गरेको छ ।दाताबाट २५ लाख हाराहारी सहयोग हुने अनुमान छ ।

यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो ।

९ चैत्र २०७७, सोमबार